प्रधानमन्त्रीको राजिनामाबाट बामदेव ब्याक, के गर्छ प्रचण्ड – नेपाल गठबन्धन ?

प्रधानमन्त्रीको राजिनामाबाट बामदेव ब्याक, के गर्छ प्रचण्ड – नेपाल गठबन्धन ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने प्रस्तावबाट ब्याक भएका छन् । शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग भेटेपछि उनी तत्काल प्रधानमन्त्रीले राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेका हुन् ।

गौतम निकट एक नेताले ओलीसँगको भेटवार्तापछि उनी यस्तो निर्णयमा पुगेको जानकारी दिए । गौतम निकट नेता भन्छन्, ‘हामीले व्यंग्यात्मक तरिकाले ओलीले प्रस्ताव गरेको भनेका थियौँ । उहाँलाई बालुवाटारमा बोलाएर कोरोना महामारीपछि कुनै ठाउँ खाली गरेर मैले प्रधानमन्त्री बन्ने प्रस्ताव ओलीले गर्नुभएछ । त्यसैले उहाँले अहिले तत्काल राजीनामा दिन नपर्ने निष्कर्षमा पुगेको सुनाउनु भयो ।’

गौतमले भैँसेपाटी गठबन्धनका नेताहरुलाई पनि फोन गरेरै राजीनामा दिन हुँदैन भन्ने धारणा राखेका एक सचिवालय सदस्यले जानकारी दिए । उनी भन्छन, ‘उहाँनै राजीनामाबाट ब्याक हुनुभयो । हामीले उहाँलाई नै प्रधानमन्त्री बनाउनु पर्छ भन्ने प्रस्ताव लैजादै थियौँ । अब के गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।’

प्रधानमन्त्री ओली गएको बुधबारको आफ्नै प्रस्तावबाट गएको बिहीबार नै ब्याक भएका थिए । उनले वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेरै गौतमलाई प्रधानमन्त्री बनाउन नसकिने प्रष्ट पारिसकेका थिए । पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग पनि ओलीले आफूले राजीनामा नगर्ने बताएका थिए ।

के गर्छ प्रचण्ड – नेपाल गठबन्धन ?

प्रधानमन्त्री ओलीले आफूखुसी अध्यादेश ल्याएपछि सुरु भएको प्रचण्ड नेपाल गठबन्धनले प्रष्टरुपमा प्रधानमन्त्रीको राजीनामा मागिसकेको छ । गौतम ओली क्याम्पमा पुगे पनि आफूहरु सबै ठाउँमा बहुमतमा हुने निष्कर्षसहित आजको बैठकमा पनि अ‍ोलीको राजीनामालाई मुख्य विषय बनाइने भएको छ ।

गठबन्धनका दोस्रो तहका नेताहरुले प्रचण्ड नेपाल दुवैलाई भेटेर तत्काल स्थायी कमिटी बैठक बोलाउन दबाब दिइरहेका छन् । लामो समयदेखि गुटमात्र चलाएको निष्कर्ष निकाल्दै उनीहरुले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैठाउँबाट विदा गर्नुपर्नेमा जोड दिदै आएका छन् ।

एक सचिवालय सदस्य भन्छन, आजको बैठकमा दुईवटा एजेन्डामा छलफल हुन्छ । एउटा त स्थायी कमिटीको बैठक बोलाइन्छ । अर्को बामदेवलाई प्रधानमन्त्री बनाउने रोडम्याप के हो र कसरी सम्भव छ ? भन्ने विषयमा छलफल हुन्छ । ‘पार्टी विधान अनुसार बैठक बोलाउन ओलीले आनाकानी गरेमा अर्का अध्यक्षले बैठक बोलाउन सक्नुहुनेछ ।’

आज बिहानैदेखि भएका विभिन्न छलफलका आधारमा नेकपा विवाद समाधान तर्फ भन्दा पनि उल्झन तर्फ केन्द्रित भएको छ ।

सम्बन्धित खवर