लकडाउनको प्रभाव : प्लटिङ्ग जग्गामा पनि उत्पादनको आशा

लकडाउनको प्रभाव : प्लटिङ्ग जग्गामा पनि उत्पादनको आशा

 

पोखरा । लकडाउनको समय लम्बिदै गर्दा पोखरा–१७ को सितापाइलामा स्थानीयहरुले प्लटिङ्ग भएको जग्गामा डोजर चलाएर खेतीपाती गर्न थालेका छन् ।

करिव दुईसय घडेरी रहेको उक्त प्लटिङमा रहेका बाँझो जग्गामा घण्टाको चौविस सय तिरेर स्थानीय किसानहरुले बारीमा डोजर लगाएका हुन् ।

प्लटिङ्गमा रहेको बारीमा मकै छरिरहेका कृष्णमान श्रेष्ठले भने–‘हामीलाई यो कसको बारी हो, थाह छैन हामीले जग्गा कव्जा गर्न खोजेका होइनौँ । बारी बाँझो देखेर मकै लगाउन खोजेका हौँ । उहाँहरुले आएर नगर्नुस् भन्नु भयो भने हामी छाडेर हिँड्न पर्छ । तर यस्तो अवस्थामा खेतिपाती गर्दा जग्गा धनीले केही नभन्नु होला ।’

अरुको जग्गामा डोजर चलाउँदा सरकारी निकायसँग छलफल गर्नुपर्दैन भन्ने प्रश्नमा श्रेष्ठ भन्छन्–‘हामी सामान्य मान्छे हौँ । नियमकानुन थाह छैन हजुर, हामीले कसैलाई सोधेर खेती गरेको होइन । बारी बाँझो देख्यौँ र खेती गर्न लागेको हो । ’

श्रेष्ठजस्तै उक्त प्लटिङमा खेतिपाती गर्ने पचास बढी बारीमा खेतीपाती चलिरिहेको छ । बाँझो जग्गामा लगाएको डोजरको बारेमा संमृद्धि टोल बिकास समितिका माधब पनेरु भन्छन्–‘लकडाउनको अवसरमा बाँझो खेतमा खेती गर्दा खासै समस्या नपर्ला भनेर होला अहिले धमाधम बाँझो खेतमा डोजर लगाएर तरकारी फलफूल लगाउने काम भइरहेको छ । कतिले जग्गाधनीलाई सोधेर नैलगाएका छन त कतिले नसोधि पनि लगाएका छन् । ठुलो प्लटिङ भएकाले जग्गा कसको हो भनेर पहिल्याउन पनि गाह्रो भएको हुनाले केहिले नसोधी खेती गरिरहेका नि छन् ।’

उक्त प्लटिङ भएको खेतीपातीको विषयमा पोखरा महानगरपालिका वडा नं। १७ को वडा अध्यक्ष तिर्थराज अधिकारीले आफू उक्त घटनाबारे अनविज्ञ रहेको जानकारी गराए । हामीले त्यसपछि सोही स्थानमा रहेका वडा सदस्य वैकुण्ठ भण्डारीलाई सम्पर्क गर्दा उनले घरधनीसँग सरसल्लाह गरेर मात्र खेती गर्न आग्रह गरेको बताए ।

बाँझो बारीमा तरकारी रोपिरहेका कृष्ण प्रसाद अर्यालले भने–‘अहिले बाँझो बारी खनेर तरकारीको समस्या हल गर्न खोजेका हौँ । उहाँहरुको जग्गा यहीँ नै छ । सरकारले पनि बारी बाँझो नराख्ने निति लिएको कारणले बारीमा डोजर लगाएर खेतीपाती गराएका हौँ ।’

सम्बन्धित खवर