रोल्पामा बेवारिसे बम विस्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पामा बेवारिसे बम विस्फोट, ४ बालबालिकाको मृत्यु

रोल्पा, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर–७ गैरीगाउँमा बम बिस्फोट हुँदा ४ जना बालबालिकाको मृत्यु भएको छ । बेवारिसे अवस्थामा रहेको बम बालबालिकाले खेलाउने ठानेर खेलाइरहेको अवस्थामा विस्फोट भएको हो ।

ठूलो आवाजमा विस्फोट भएपछि हेर्न जाँदा बम विस्फोटमा परी ४ बालबालिकाको घटनास्थलमै मृत्यु भएको पाइएको त्रिवेणी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष कविराज बुढाले बताएका छन् ।

बम विस्फोटमा मृत्यु हुनेमा ७ देखि ११ वर्ष उमेरका ३ बालक र १ बालिका रहेका वडाध्यक्ष बुढाले जनाएका छन् । बम बिस्फोटमा परी त्रिवेणी गाउँपालिका ७ बस्ने १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षकी विमला खत्री, ५ वर्षका विजय खत्री र १३ वर्षका गौरव नेपालीको मृत्यु भएको हो ।

घटनास्थलमा राइफलको गोली जस्तै देखिने बम पनि रहेकाले निष्क्रिय पार्न दहवनस्थित नेपाली सेनाको टोलीलाई घटनास्थलमा बोलाइएको छ ।

प्रहरी घटनास्थलतर्फ जाँदै गरेकाले बम विस्फोटको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक चित्रबहादुर गुरुङले बताएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन विद्रोही माओवादीले लुकाएर राखेको बम स्थानीय बालबालिकाले खेल्ने क्रममा भेट्टाएको र बिस्फोट भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

सम्बन्धित खवर