गण्डकी प्रदेशसभा : भर्चुअल संसद कि पाल टाँगेर चलाउने ?

गण्डकी प्रदेशसभा : भर्चुअल संसद कि पाल टाँगेर चलाउने ?

पाेखरा : अन्तिम पटक चैत ६ गतेका लागि मिति तोकिएको गण्डकीको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित छ । त्यसयता कोरोना महामारी र लकडाउनका कारण सदन अब कहिले भन्ने अझै निश्चित छैन् । लगातार ६ वटा संसद बैठक विविध कारणले स्थगित भएपछि गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन कहिले सकिन्छ भन्नेमा अन्योल छ । गतवर्ष अहिलेको मितिभन्दा एकसाता अघि नै सरकारको सिफारिसमा सभामुखले अधिवेशन अन्त्य गरिसकेका थिए ।

तर, चालु आर्थिक वर्षको हिउँदे अधिवेशन गण्डकीमा सुरुदेखि नै प्रभावित बन्यो । पौष २३ गतेदेखि सुरु भएको हिउँदे अधिवेशन सुरुवाती एक दुई दिन बैठक सुचारु भयो । त्यसपछि राष्ट्रियसभा निर्वाचनका कारण माघको तेश्रो साता मात्रै बैठकको मिति तय सभामुख नेत्रनाथ अधिकारीले गरे । केही विधेयक पारित गर्ने र गतसाल जस्तै हिउँदै अधिवेशन टुंग्याउने मनसायमा सभामुख रहेतापनि राष्ट्रियसभा निर्वाचन यता गण्डकी प्रदेशसभा अवरुद्ध जस्तै भयो । प्रदेशसभा स्थापनाका दुई वर्ष पुरा हुँदासम्म लगातार छ वटा बैठक स्थगित हुनु यहाँको लागि आफै रेकर्डब्रेक हो ।

मुख्यतः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विभिन्न १४ वटा माग राख्दै सदन अवरुद्ध ग¥यो । सरकार प्रमुखले मागको सम्बोधन गरेमात्रै सदन खोल्न दिने अन्यथा अनिश्चितकालसम्म सदन स्थगित गर्ने मनसायमा कांग्रेस थियो । ६ वटासम्म बैठक अवरुद्ध भएपछि सभामुखले सदन खुलाउन दुवै पक्षसँग निरन्तर सम्वाद पनि गरे । तर, बिना निष्कर्ष टुंगिएका छलफलल निकास पाउन सकेनन । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसले पत्रकार सम्मेलन गरेर सरकारको बचाउ र आरोप गरे । अर्कातर्फ, सरकारले भने बजेटको थालनी गरिसकेको छ । सरकारले संघीयता विज्ञ डा. खिमलाल देवकोटासँग एकपटक भर्चुअल बैठक पनि गरिसकेको छ । संघ सरकारले बजेटको सिलिङ पठाएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् ।

अवरुद्ध सदन खुलाउने, अन्त्य गर्ने र बजेट अधिवेशनको थालनी गर्ने बारेमा सभामुख नेत्रनाथ अधिकारीले विभिन्न विकल्पमाथिको छलफल थालेका छन् । टेलिफोन संवादमा सभामुख अधिकारीले अहिलेकै अवस्थामा हिउँदे अधिवेशन नरोक्ने पनि स्पष्ट पारे । प्रदेशसभा बैठक डाक्ने, केही विधेयक पारित गर्ने र हिउँदे अधिवेशन अन्त्यको घोषणा गर्ने मनस्थिती सभामुखको छ । तर, कोरोनाका कारण सिर्जित परिस्थिति, सामाजिक दुरी कायम गर्नुपर्ने लगायतका कारण प्रदेशसभाको अहिलेकै हलमा संसद चलाउने मनस्थिती पनि सभामुखको छैन् ।
यसको विकल्पमा भर्चुअल संसदबारे पनि छलफल भइरहेको छ’, सभामुख भन्छन, ‘हाम्रो पहिला हिउँदे अधिवेशन सुरु गरेर अनि त्यसलाई अन्त्य गरेर वर्षे अधिवेशन सुरु हुनेछ । भर्चुअल संसदको बारेमा पनि छलफल भइरहेको छ ।’ तर, के गर्ने भन्ने निर्णयमा भने उनी पुगिसकेका छैनन् ।

भर्चुअल बैठकको अलावा सामाजिक दूरी पनि कायम राख्न पुग्ने गरि ठुलो स्पेसमा सदन चलाउने विकल्पको बारेमा पनि सोचेको उनले बताए । पोखराको ‘सिटी हल’ लाई सो विकल्पमा राखिएको छ । यसबाहेक, पाल टाँगेरै बैठक चलाउने बारेमा पनि सभामुखले अर्को विकल्प खोजेका छन् ।

तर, टुंगो भने लागेको छैन् । ‘सिटि हलमा चलाउने कि पाल टाँग्ने कि, अथवा त्यहीँ चलाउने कि भन्ने भएको छ । अझै एकदुइदिन यो लकडाउन हेरौँ, अनि त्यसपछि बोलाउनुपर्ला भन्ने हो । अहिले केही निर्णय चाहिँ भइसकेको छैन्’, उनले भने ।

सम्बन्धित खवर