राजेन्द्र महतो, लहान
लकडाउन भएको महिना दिन वितिसक्दा सम्म पनि राहत नदिएपछि मेयरलाई नै राहत दिनका लागि राहत संकलनमा युवाहरु जुटेका छन् । सिरहाको सुखिपुरका मेयर राम अवतार यादवलाई राहत दिनका लागि संकलन गरिएको राहत आइतबार नगरमा बुझाइएको नितेश कुमार यादवले बताए ।
महिना दिन वित्दा पनि पिडितहरुलाई राहत नदिएपछि मेयरलाई नै राहत दिनुपर्ने अवस्था आएको यादवले बताए । बल्ल तल्ल बनेको राहत संकलन तथा वितरण समिति पनि आफुखुसी गठन गरेको युवाहरुले आरोप लगाएका छन् । समिति पारदर्शी नभएको र राहत वितरणमा मनलाग्दी गरेपछि मेयरलाई राहत दिन बाध्य हुनुपरेको सुखीपुर नगर सुधार समितिका अध्यक्ष बिपी भुवन यादवले बताए । स्थानीयहरुबाट राहत संकलन गरेर आजै मेयर यादवलाई राहत दिनलाई नगरमा पुग्दा मेयर यादव कार्यकक्षमा नै थिए । नगर प्रहरी र कर्मचारीले भित्र प्रवेश गर्न नदिएपछि गेटमा नै राहत छोडेर फर्किएको यादवले बताए ।
मेयर यादवलाई डोम समुदायले समेत सकेसम्मको राहत सामग्री उपलब्ध गराएका छन् । उनिहरुले आफुलाई खान राखेको दाल, चामल, आलु लगाएतका खाद्य सामग्री मेयरलाई पठाएका हुन् ।