बैशाख १२, इटहरा : मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १० देविस्थानका कमल ताँतीको परिवार राहत पाएपछि खुसी भएको छ ।
कोरोना भाईरसको संभावित रोकथाम तथा नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनका कारण सबै क्षेत्र सुनसान तथा ठप्प छन् । लकडाउनबाट सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवार प्रभावित भएका छन् । खाद्यान्न अभावका कारण उनीहरुलाई गुजरा चलाउन समस्या परिरहेको छ ।
त्यस्तै दैनिकी चलाउन कठिनाई आईरहेको ताँती परिवारलाई आरम्भ नाट्य डबली कला साहित्य मञ्चले राहत उपलब्ध गराएको हो ।
ताँती परिवार लामो समयदेखि सोमबारे बजारमा चटपटे पसल गरी गुजरा चलाउँदै आइरहेको थियो । लकडाउनले गर्दा उनीहरुले काम गर्न पाएका छैनन् । दिनभरी काम गरेर बेलुकाको छाक टार्ने ९ जनाको ताँती परिवार यतिबेला कसरी दैनिकी चलाउने भन्नेबारे चिन्तित छ । तर शुक्रबार आरम्भले राहत सामाग्री सहयोग गर्दा कमलको परिवार निकै खुसी देखिन्थ्यो ।
वडाले नगरपालिकासँगको सहकार्यमा दिएको राहत सकिनै लागिसक्या थियो, ताँतीले बताउनुभयो, “ तर आरम्भले समयमै राहत थपिदियो । अब यति भए एक महिना बाँचिन्छ ।”
आजसम्म खेतीको काम गरेको थिइन तर यो लकडाउनले गर्दा खेती गर्नुपर्ने रहेछ भन्ने कुरा सिकायो भन्दै ताँतीले भन्नुभयो, “आफूसँग जमिन छैन, हुनेसँग खेती गर्छु भनेर जग्गा माग्दा पत्याएनन् ।”
बिहान बेलुकाको छाक टार्नै गाह्रो भईरहेको यो परिवारको विजोग देखे पछि सहयोग गरेको आरम्भका अध्यक्ष समिर सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार आरम्भले शुक्रबार ताँती परिवारलाई ३० किलो चामल र निलम न्यौपानेको सहयोगमा एक किलो दाल, एक किलो नुन र एक लिटर तेल वितरण गरेको हो ।
नगरक्षेत्रमा बिहान बेलुका हातमुख जोहो गर्न नसक्ने परिवार तथा ज्यालादारीमा काम गर्दै आइरहेका श्रमिकहरुलाई सक्दो सहयोग गर्ने सुवेदीले बताउनुभयो ।
‘शुरुमा केही वितरण गरेका हौँ’ सुवेदीले भन्नुभयो, “लकडाउन अझै लम्बिँयो भने फेरी दिन्छौं । कोही भोकै बस्न पर्दैन ।”