तनहुँका प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालनमा

तनहुँका प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालनमा

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले प्रत्येक टोलमा ज्वरो क्लिनिक सञ्चालन गरेको छ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले सबै वडाका टोलहरुमा आजदेखि ज्वरो क्लिनिक सञ्चालन गरेको हो ।

सातवटै वडाका अध्यक्ष, टोल विकास संस्थाका पदाधिकारीसँग आवश्यक समन्वय गरी ज्वरो क्लिनिक सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिनुभयो । ज्वरो क्लिनिक सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई टोल–टोलमा खटाइएको छ ।

“कोभिड–१९ को लक्षणसँग मिल्ने ज्वरो, रुघाखोकी, शरीर दुख्नेलगायतका बिरामीको पहिचानका लागि ८२ वटै टोलमा ज्वरो क्लिनिक सञ्चालन गरिने र सर्वसाधारणको तथ्याङ्क सङ्कलन गर्नेछौँ”, प्रमुख प्रशासकीय अधिकृत नागिलाले भन्नुभयो ।

यस अगाडि गाउँपालिकाले विदेशबाट फर्किएका नागरिकको विवरण सङ्कलनका लागि टोल विकास समितिलाई परिचालन गरेको थियो । टोल विकासमार्फत कोभिड–१९ का शङ्कास्पद व्यक्तिको तथ्याङ्क लिने, सङ्क्रमणको जोखिम, लक्षण र आवश्यकता पहिचान गर्ने काम गरेको थियो । गाउँपालिकामा चैत १ गतेदेखि विदेशबाट फर्किनेको सङ्ख्या ४३ जना रहेको छ ।

सम्बन्धित खवर