उदयपुर : कोरोना भाइरस संक्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा पहिलोपटक प्रदेश सरकारको तर्फबाट सामाजिक विकास मन्त्री जीवन घिमिरेले अनुगमन गरेका छन ।
बिहीबार नेपाली सेनाको पूर्वीपृतनापति सहित संक्रमित क्षेत्र आइपुग्नुभएका मन्त्री घिमिरेले संक्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्या लगायतका समग्र जिल्लाको अवस्थाका बारेमा सरोकारवालासँग छलफल गरेका गरेका छन ।
छलफलमा जुट्नु भएका मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मी सहितका ११ जनाले जिल्लाको विकसित घटनाक्रमका बारेमा जानकारी गराएका थिए । उनीहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री घिमिरेले संक्रमण कहाँबाट फैलियो भन्ने कुराको अन्तिम टुङ्गोमा प्रदेश सरकार पुग्न लागेको बताए ।
भारतको युपीमा उर्धुभाषा अध्ययन गरेर घर फर्किएका र दुबईबाट आएका व्यक्तिमध्ये एकजनाबाट संक्रमण फैलिएको हो भन्ने निष्कर्षमा पुगिएकोे उनको भनाई थियो । मन्त्री घिमिरेले भारतबाट आएका १२ जना जमातीले संक्रमण ल्याएको हो भन्नेमा आफूहरु विस्वस्थ नरहेको दावी गरे । प्रारम्भिक अनुसन्धानमा उनीहरुको सम्र्पक २ सय ५१ जनासँग पुगेको र ति व्यक्तिहरुको चाँडै परीक्षण गरिने उनले बताए ।
स्वास्थ्य उपचारका सन्र्दभमा मन्त्री घिमिरेले कोशी अञ्चल अस्पतालमा १ सय जनाको रहेको र त्यसले धान्न नसक्ने अवस्था सृजना हुँदै गएकाले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तत्काल सय जनालाई एकैसाथ उपचार हुने गरी प्रकृया अघि बढाएको जानकारी दिए । धरानले एक सय जना थेग्न नसकेको अवस्थामा पुरै खाली गरेर एक हजार पुर्याउने लक्ष्य रहेको बताए ।
न्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि एक करोड बजेट विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिए ।
स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले स्वास्थ्य सामग्री, दक्ष जनशक्ति लगायतका सुरक्षाकवजहरु अभाव रहेकाले तत्काल आपुर्ति गरिदिन आग्रह गरेका छन । प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले प्रदेश सरकारले उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेपनि अन्य प्रदेशसँग समन्वय नहुँदा वाहिर जिल्लाबाट सर्वसाधारण आउनेक्रम नरोकिएको बताए ।
जिल्लाका विभिन्न ठाउँका ३ सय ७९ जनामा गरिएको स्वाब परीक्षण मध्ये २८ जनामा कोरोना पुष्टि भईसकेको छ । जिल्ला कोरोना भाइरस (कोभिड–१९)को संक्रमण संख्या २८ जना पुगेसँगै स्थानीय प्रशासनले लकडाउनलाई थप कडाई गर्दै आएको छ, भने संक्रमिति क्षेत्र पुर्ण सिल गरिएको छ ।
उक्त क्षेत्रमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले घेरा हालेको छ । सर्वसाधरणलाई आउजाउमा पुर्ण रोक लगाएपछि जीवन यापनमा समेत असहज बन्दै गएको छ ।
प्रदेश सांसद विमल कार्की, नारायण बुर्जामगर, अम्बिका थापा, जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले लकडाउन थपिदै जाँदा किसान, मजदुरको जीवनयापन कष्टकर बन्दै जानुकासाथै किसानले खेती गर्न र उत्पादन गरेका बस्तु विक्री गर्न नपाएको गुनासो पोखे ।
उनीहरुले अस्पतालमा आएका बिरामीलाई चिकित्सकले उपचार गर्न नमान्ने, एम्बुलेन्स चालकले विरामी बोक्न नमान्ने जस्तो समस्या देखिदै गएको बताए ।