आज आमाको मुख हेर्ने दिन: घरमै बसेर मनाइँदै

आज आमाको मुख हेर्ने दिन: घरमै बसेर मनाइँदै

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएका भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रहरूमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।

सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उनले सुनाए। यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुशी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुशी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताए।

सम्बन्धित खवर