यार्सागुम्बा संकलन: मुस्ताङमा लगाइयो रोक

यार्सागुम्बा संकलन: मुस्ताङमा लगाइयो रोक

पाेखरा : हिमालपारीको जिल्ला मुस्ताङमा पहिलो पटक यार्सागुम्बा संकलनमा रोक लगाइएको छ । १५ वर्ष अघिदेखी संकलन गरिदै आएको यार्सागुम्बा संकलनमा यस वर्ष भने कोभिड–१९ को महामारीका कारण रोग लगाइएको हो । कोरोना भाइरससँग लड्न लकडाउन भैरहेको र यो समयमा यार्सा टिप्नु चुनौती हुने भन्दै जिल्ला विपत व्यवस्थापन समिति मुस्ताङले रोक लगाउने निर्णय गरेको हो ।

जिल्लाको वारागुङमुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोरकुण्ड र थासाङ गाउँपालिकाका विभिन्न लेकहरुमा बैशाखदेखि असारसम्म यार्सागुम्बा टिप्ने सुरु हुन्थ्यो । यार्सा संकलन गर्नेकार्य फुकुवाहुँदा जिल्ला बाहिरका मानिसको आउजाउ बढ्ने भएकाले तत्कालका लागि यार्सा टिप्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए ।

देश नै लकडाउन रहेको अवस्थामा जिल्लामा पाइने बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलनले झनै ठूलो विपत्ती ल्याउने र सुरक्षाको कारण सबैभन्दा जोखिम भएको भन्दै यसवर्ष यार्सागुम्बा संकलनमा रोक लगाएको अर्यालले बताए । लकडाउनको पूर्ण पालना गर्ने भन्दै यार्सा टिप्न रोक लगाईएको घरपझोङ्ग गाउँपालिकाका अध्यक्ष आश बहादुर थाकालीले जानकारी दिए ।

मुस्ताङमा यार्सा टिप्न मनाङ, म्याग्दी, बागलुङ, रुकुम, रोल्पा लागायतका जिल्लाबाट धेरै मानिस यहाँ आउने गर्थे । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको निगरानीमा रहेको मुस्ताङ जिल्लामा यार्सा संकलन गर्न एक्याप अन्तरगतको संरक्षण व्यवस्थापन समितिले यार्साको पुर्जी फुकुवा गर्ने गरेको अन्नपुर्ण संरक्षण कार्यालयका जोमसोमका प्रमुख तुलसी दाहालले बताए ।

जिल्लाका फरक÷फरक खर्कमा संरक्षण समितिले यार्सा संकलन गर्न आउनेहरुलाई प्रबेश शुल्क तोक्ने गरेको थियो । सरकारको अर्को सूचना नआउँदासम्मका लागि यार्सा टिप्न मुस्ताङमा रोक लगाएको दहालले बताए ।

सम्बन्धित खवर