उदयपुरका थप तीन जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ। बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणमा थप तीनजनामा संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार गरिएको परीक्षणमा थप संक्रमित भेटिएको बताए।
नियमित पत्रकार सम्मेलनमा प्रवक्ता देवकोटाले दिएको जानकारीअनुसार बुधबार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ पुगेको छ। जसमध्ये ६ जना निको भएर घर फर्किसकेका छन् एक जना डिस्चार्जको तयारीमा छन्। ३८ जना उपचाररत छन्।
यसअघि काठमाडौंमा नेपालमा भेटिएका पहिलो संक्रमित, टेकु अस्पतालमा उपचार भएकी प्रसिद्धि श्रेष्ठ, टेकुमै उपचार भएका धादिङका ३२ वर्षीय पुरुष, बागलुङकी ६५ वर्षीया वृद्धा, सेती अस्पतालमा उपचार भएका दुई पुरुष निको भएका थिए।
उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा पहिलो पटक एकैसाथ १२ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यसपछि त्यसको भोलिपल्ट थप एकजनामा संक्रमण पुष्टि भएको थियो। त्यस्तै हिजो बिपीमा गरिएको परीक्षणमा ८ र टेकूस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण देखिएको थियो। आज बिपीमा पिसिआर विधिबाट गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएसँगै उदयपुर क्षेत्रमा संक्रमितको संख्या २७ पुगेको छ।
उदयपुरका संक्रमित सबैको विराटनगरस्थित कोशी कोभिड अस्पतालमा उपचार भइरहेको छ। आज संक्रमण देखिएका ३ जनालाई पनि कोशी कोभिड अस्पताल ल्याइएको हो।