रुपाका प्रत्येक घरलाई तरकारीको विउ, घरघरमै पुगेर जनताको स्वास्थ्य परीक्षण

रुपाका प्रत्येक घरलाई तरकारीको विउ, घरघरमै पुगेर जनताको स्वास्थ्य परीक्षण

कास्की : कास्कीको रुपा गाउँपालिका नेपालकै नमुना गाउँपालिका बन्न सफल छन् । गाउँपालिकाको नेतृत्व गरिरहेका अध्यक्ष नवराज ओझा जहिल्यै आफूलाई फरक रुपमा प्रस्तुत गर्छन् । युवा नेता ओझा अग्रगामी पनि छन् । कोरोना संक्रमण जोखिमलाई मध्यनजर गरी नेपाल लकडाउन हुनु भन्दा पहिल्यै उनले आफ्नो गाउँपालिकालाई लकडाउन गरेर उदाहरण प्रस्तुत गरिसकेका थिए ।

ओझाले फेरी आफ्नो गाउँपालिकामा नयाँ कामको सुरुवात गर्दैछन् । रुपा गाउँपालिकाका प्रत्येक घरलाई तरकारीका विउविजन निःशुल्क वितरण गर्ने र प्रत्येक जनताको घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने अभियान अगाडि बढिसकेको छ ।

 

रुपाका प्रत्येक घरमा न्युनतम ४० वटा बोट हुने गरी तरकारीका विउविजन वितरण गर्न लागिएको अध्यक्ष ओझाले जानकारी दिए । रुपा गाउँपालिकामा करिब ६ हजार घरपरिवार छन् । ‘कोरना महामारीको विरुद्धमा दीर्घकालीन असर नपरोस् भन्ने उद्देश्यले हरेक घरमा उन्नत जातको विउविजन वितरण गर्न लागिएको हो,’ उनले भने । जनप्रतिनिधि र कर्मचारीमार्फत सोमबारबाट बर्खे साग (छोटो समयमा खान हुने), घिरम्ला, करेला, लौका, काक्रो, चिप्ले भिडी लागयतका विउ वितरण गरिनेछ ।

त्यसैगरी, दीर्घरोगी तथा ५० वर्षसम्मका जनतालाई माक्स वितरण हुने उनले जानकारी दिए । ‘रुपा गाउँपालिकामा, स्वास्थ्य सेवा घरघरमा’ उद्घोषका साथ सबै घरमा स्वास्थ्यकर्मीद्वारा चेक जाँच गरिने कार्यक्रम पनि सोमबारबाटै अगाडि बढ्ने ओझाले जानकारी दिए । ‘जनतालाई घरमै बस्न म आग्रह गर्दछु,’ उनले भने, ‘सेवा हामी घरघरमै दिनेछौं ।’

सम्बन्धित खवर