विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्छ: मुख्यमन्त्री गुरुङ

विपन्न वर्गलाई सबैले सहयोग गर्नुपर्छ: मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरा महानगरपालिका र पौरखी स्वयंसेवी समूहको सहकार्यमा मजदूर तथा विपन्न वर्गलाई पुर्याउँदै आएको खाना वितरण कार्यको आज अनुगमन गरेका छन । पोखरा महानगरपालिका–७ स्थित बैक्युट पार्टी प्यालेसमा खाना तयार गरी वितरण गर्दै आएको समूहको पदाधिकारीलाई भेटी उनले भइरहेको सेवा प्रवाहबारे जानकारी दिए ।

समूहका पदाधिकारीहरुसँग कुरा गर्दै मुख्यमन्त्री गुरुङले महामारीबाट बच्नु र बचाउनु अहिलेको आवश्यकता भएको उल्लेख गर्दै विपन्न तथा असहायलाई सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

सो स्थानमा अनुगमनका लागि पुगेका मुख्यमन्त्री गुरुङलाई समूहका सदस्य जनक पराजुलीले दैनिक ज्यालादारी एवम् विपन्न परिवारलाई लक्षित गरी शुरु गरिएको भान्छाघरबाट तयार गरिएको खानाको प्याकेट निःशुल्क रुपमा सम्बन्धी स्थानमा पुर्याउँदै आएको जानकारी दिए। वडाका स्थानीय तहका जनप्रतिनिधिको समन्वय गरी दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने मजदूरको परिचालन गरी खाना वितरण गरिएको बताउँदै उनले पहिलो दिन शनिबार १ सय ९७ जनाको पेट भर्ने काम भएको छ भने आज दोस्रो दिन ८ सय  जना पुगेको बताए ।

समूहमा आबद्ध १६ जनाबाट व्यक्तिगत सात हजारका दरले उठाएर खाली पेट भर्ने काम गरेको अभियानमा विभिन्न व्यक्तिहरुबाट स्वस्फूर्त खाद्यान्न प्राप्त हुँदै गएको अर्का सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिए । भात, दाल, तरकारी र चटनीसहितको खाना सेट रहेको बताउँदै उनले अहिलेसम्म पोखराका चाउथे, रामघाट, चिप्लेढुङा, पृथ्वीचोकलगायत स्थानमा खाना सेट पुर्याउँदै आएको बताए । – रासस

सम्बन्धित खवर