बैशाख ७, इटहरा । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर ८ मा आइतबार राहत वितरण गरिएको छ ।
राहतका लागि सिफारिस भएका २ सय २१ घरपरिवारमध्ये २ सय १५ परिवारले राहत सामाग्री बुझेको ८ नम्बर वडा अध्यक्ष ननदकुमार चापागाईले जानकारी दिनुभयो । विभिन्न कारणले वितरणको समयमा राहत लिन आउन नसकेका परिवारलाई राहत सामाग्री घरमै पुर्याइदिने पनि उहाँले बताउनुभयो ।
राहतका लागि वडामा लगत संकलन गर्दा १० विपन्न परिवार छुट्न गएको भन्दै ती परिवारलाई पनि राहत उपलब्ध गराइने वडा अध्यक्ष चापागाईले बताउनुभयो ।
वडाका विभिन्न ठाँउहरुबाट राहत वितरण गरियो । दुर्गा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, पाथिभरा आधारभूत विद्यालय, महेन्द्र आधारभूत विद्यालयबाट राहत वितरण गरियो । त्यसैगरी सुकुम्बासी बस्ती र झुनाबारी चौकबाट पनि राहत वितरण गरियो ।
सामाजिक दुरी कायम गर्दै सहजरुपमा राहत वितरण गर्न वडाबासीलाई पायक पर्ने गरी ७ वटा वितरण केन्द्र बनाएर राहत सामाग्री हस्तान्तरण गरिएको वडा अध्यक्ष चापागाईको भनाई छ । वडाले बनाएको योजना अनुसार सहजरुपमा राहत वितरण गरिएको भन्दै उहाँले प्रशन्नता समेत व्यक्त गर्नुभयो ।
राहत सामाग्रीको प्याकेजमा प्रति परिवारलाई १५ किलो चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर खाने तेल र एउटा साबुन वितरण गरिएको छ ।