लम्बिँदो लकडाउनका कारण तौलिहवास्थित कपिलवस्तु बालगृहमा रहेका बालबालिकाहरु भोकभोकै बस्नु पर्ने बाध्यता आएको छ । बालगृहको नियमित आम्दानी नहुँदा दैनिक खानपानको व्यवस्थापनमा चुनौती देखिन थालेपछि बालबालिकाहरु भोकभोकै पर्ने अवस्था सृजना हुन थालेको हो ।
हाल सम्म त जेनतेन व्यवस्थापन गरेर बालबालिकाहरुको दैनिक खानपिनको व्यवस्था मिलाएर पनि अब कतैबाट सहयोग नपाउने हो भने बालबालिकाहरु भोकै रहने अवस्था सृजना हुन थालेको बालगृहका प्रमुख रामप्रसाद अर्यालले बताए ।
जिल्ला बाल संगठन कपिलवस्तुअन्तर्गत सञ्चालन गरिएको बालगृहको नियमित आम्दानीको स्रोत नागरिकताको फाराम बिक्री र सटर कोठा भाडा हो । तर लकडाउनका कारण यी दुवै स्रोतबाट आम्दानी नआएका कारण बालगृहको दैनिक खर्च धान्न गाह्रो भएको गृहप्रमुख अर्यालले बताए । दैनिक रुपमा बालबालिकाहरुको खाना तथा खाजा खर्च करिव६ हजार रुपैयाँ लाग्ने गरेको छ ।

अभिभावक नै नभएका २४ जना बालबालिका र बाबुको मृत्यु भएको भएको, आमा लामो समय काराबास सजाय पाई कारागारमै रहेका अभिभावकका ५ बालबालिका गरेर कुल २९ बालबालिका हाल बालगृहमा बस्दै आएका छन् ।
तत्कालीन नेकपा माओवादी र नेपाली सेना दुवैतर्फबाट अभिभावक गुमाएका बालबालिकाहरुको आश्रय गृहको रुपमा २०५९ सालदेखि बालगृह संचालन हुँदै आएको छ । शुरुका वर्षहरुमा राज्यबाटै बालगृह संचालनका लागि अनुदान प्राप्त हुन्थ्यो तर पछिल्ला वर्षहरुमा सरकारी कुनै सहयोग बालगृहमा छैन ।
लक डाउनको अवस्थामा बालगृह संचालनमा आएको कठिनाईका बारेमा आफुलाई जानकारी आएको, यसका लागि स्थानीय स्तर र प्रदेश सरकारसँग पनि पहल शुरु गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । बालगृृहबाट हाल सम्म एक सय बालबालिकाहरु पास आउट भएर निस्केका छन् ।




