विदुर रेग्मी ।
पाेखरा : बिस्तारै बिस्तारै भन्दा भन्दै एकैदिनमा १४ जना संक्रमित थपिनु भनेको कोरोनाले नेपालमा ७ रेक्टर स्केलको भुकम्पको दाँजोको झड्का दिएको जति नै घातक अवस्था हो । यो समय सम्म आइपुग्दा हामीले केही आधारभूत तयारी गर्ने मौका पाएका पनि थियौ र मौका को सदुपयोग पनि केही हदसम्म गरेका पनि थियौं तर पनि कता कता हाम्रो तयारी र आँकलन अझै कमजोर हो कि ?
थाहै नदिई आउने भुकम्प को तुलनामा बाजा बजाउदै आएको कोरोना कयौं गुना घातक किन भयो त ? किनकी हामीले आजसम्म यस्ता महामारी सङ्ग जुध्ने क्षमताको विकास गरिसकेका रहेनछौ । स्वास्थ्य क्षेत्र मा रहेका कयौं निजि क्लिनिक देखि अस्पतालहरु केवल रुघाखोकीमा एन्टिबायोटिक चलाउन र मधुमेह र मुटु रोगी लगायतका तारिके बिरामीसँग बडि भन्दा बडि पैसा असुल्न ठडिएका बाहेकको हैसियत देखाउन सकेनन् ।
विपद् व्यवस्थापनका लागि नीतिगत व्यवस्था तथा ऐन र विशेष तयारी कार्यक्रम पनि नभएका हैनन् तर ती पनि फाइभ स्टारको कोलाज र कागजी पानामा धेरै र वास्तविकतामा निकै कम भन्ने साबित कोरोना महामारीको पहिलो महिना मै अनुभव गराइसक्यो । विपद् को बेला २-४ हजार मान्छे राख्न सक्ने क्षमता र २-४ महिना पाल्न सक्ने हैसियत पनि रहेनछ हामी माझ जसको फलस्वरूप लकडाउनमा अलपत्र परेका मजदुरलाई व्यवस्थापन गर्न धौ धौ परिरहेको छ ।
लकडाउनको मर्मलाई कुल्चिदै दिनानुदिन केही मानव झुन्ड लम्किरहेछ गाँस र बाँसको खोजीमा । जो जहाँ छौ त्यही बस लकडाउन अवधिमा तिम्रो गाँस बाँस र कपास को जिम्मा हाम्रो भनेर कुनै पनि तहका सरकार ले आँट्न नसक्नुले नै हामी गरिब मुलुक का निमुखाहरु हौ भन्ने परिचय छर्लङ्ग पारिदिएको छ , र हाम्रो विकास र हामीले बनाएका योजनाहरु माथि प्रश्न चिन्ह खडा गरेको छ ।
यस्तो संवेदनशील महामारीको अवस्थामा पुर्वको मानिस पश्चिम र पश्चिमको पुर्व गर्नु कदापि उचित हैन । थोरै मानिसको यस्ता क्रियाकलापले पनि समुदायमा एक गम्भीर समस्या खडा गर्न सक्छ । त्यसैले यो बेला मजदुर हरु को उचित व्यवस्थापन जहाँको त्यही गर्नु नै बुद्धिमता पुर्ण काम हुनेछ ।
स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रले आइपर्न सक्ने विपत्तिको पुर्वानुमान लगाउन सक्नु पर्ने हो जब चीनमा भयावह सुरु हुँदै अन्य मुलुकमा फैलिदै थियो । छिमेकी राष्ट्रमै महामारी फैलिँदा हामी “वर्स्ट केस सिनारियो” को लागि तयार हुनुपर्नेमा सामान्य अवस्थालाई सम्हाल्न पनि निकै कठिनाई भोगेको हाम्रो यथार्थ हो । तर पनि सोचेजस्तो सजिलो पक्कै नभएकोले नै होला सोचेजस्तो सहज परिस्थिति बन्न सकेन । स्वास्थ्यकर्मी पिपिई लगायत आधरभुत सुरक्षा सामग्रीको पर्खाइमा , केहि धनका त कोहि मन का गरिब राहतको आशामा , अलपत्र मजदुर गाँस र बाँस को आशामा एक महिनासम्म रहँदासमेत परिस्थिति लाई त्यत्ति सहज बनाउन सकिरहेको देखिदैन । खै त हाम्रो पुर्व योजना, खै तथ्यांक, खै पुर्व तयारी ?
२०७२ को भुकम्पको पाचौँ वर्षगाँंठ मनाउँदै गर्दा हामीलाई यस्तो विपद् को पुर्व अनुभव नभएको हैन । हामीसँग भुकम्प, बाढी ,पहिरो, नाकाबन्दी जस्ता विषम परिस्थितिको काफी इतिहास छ । यस अर्थमा आकस्मिक विपद् र रोगजन्य महामारी समग्र विपद् को व्यवस्थापनका लागि आवश्यक पुर्वाधारको निर्माण र तत्काल उपलब्ध हुने गरि संयन्त्रको विकास गर्न नितान्त आवश्यक छ ।
हरेक टोल विकास संस्था, वडा, पालिका, प्रदेशले आ-आफ्नो ठाउँमा बिपद र महामारीको अवस्थामा तत्काल प्रयोग गर्न सकिने विपद् व्यवस्थापनका कोष र अत्यावश्यक सामग्रीको भन्डारण गर्ने क्षमताको विकास गर्नैपर्ने पाठ यो महामारी ले देखाउँछ । वि.सं २०२० मै बनेको “संक्रामक रोग ऎन २०२०” लाई आधार मानेर हामी काम गर्दै गर्दा हामी प्रतिकार्यमा निकै अगाडि हुनेपर्ने हो जस्तो लाग्छ | हाल अपनाइएको लकडाउन लगायतका सावधानी समग्रमा त्यति नराम्रो नभए पनि परिस्थिति मध्यनजर गर्दा राम्रो र पर्याप्त भन्न सकिने अवस्थामा पटक्कै छैनौँ हामी ।
यस्ता कठिन परिस्थितिलाई सहज र सरल बनाउन सरकारको जोडदार प्रयाससहित हामी सबै जनता,नेता लगायत बौद्धिक वर्ग भरपुर लागिपर्नु पर्ने आवश्यक छ । कम्तिमा पनि हरेक घरमा ६ महिनासम्मलाई पुग्ने अन्नको भन्डारण रहोस् जस्का लागि जमिन बाँझो नराखी खेतीपातीलाई सरकारी तहबाट नै प्रमुख प्राथमिकता दिइयोस् , हरेक स्थानीय तहमा बिपद् व्यवस्थापन समिति बनाएर महामारी र विपद्को जोखिम न्यूनीकरणका लागि योजना निर्माण र कोष खडा गरियोस्, पालिका र प्रदेश स्तरमा अझ सशत्त र केन्द्रिय तहमा विशेष खालका योजना नीतिहरु निर्माण तथा सहि कार्यान्वयन गरियोस् । यसो गराउन सके मात्रै महामारी लगायत अन्य विपद्को बेला आइपर्ने जोखिम न्यूनीकरण मा हदै सम्म टेवा पुग्ने देखिन्छ ।
२०७२ को महाभुकम्प, २०७६/०७७ को कोरोना महामारी जस्ता विपत्ति को समना फेरि गर्न नपरोस तर पनि यस्ता विपत्ति आइपरेमा पनि सहज परिस्थिति मै सामना गर्न सक्ने हैसियत हामी सबैले र राष्ट्रले प्राप्त गर्न सकोस् ।