‘लकडाउन सधैं सम्भव छैन, प्रविधिको प्रयोगबाट कोरोनालाई नियन्त्रण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

‘लकडाउन सधैं सम्भव छैन, प्रविधिको प्रयोगबाट कोरोनालाई नियन्त्रण गर्नुपर्छ : मुख्यमन्त्री गुरुङ

पाेखरा : पोखरा महानगरपालिकाको कार्यालय परिसरमा स्वचालित सेनिटाइजर टनेल राखिएको छ । महानगर र नेपाल इन्जिनियरिङ एशोसिएसन (एनइए) गण्डकीको सहकार्यमा उक्त टनेल निर्माण गरिएको हो । होलबडीलाई सेनिटाइज गरी मानिसको कपडामा भएको कोरोना भाइरसलाई मार्ने स्वाचालित सेनिटाइजर टनेलको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आइतबार शुभारम्भ गरेका छन् ।

सो अवसरमा बोल्दै मुख्यमन्त्री गुरुङले कोरोना भाइसरबाट बच्ने पहिलो विकल्प लकडाउन भएको बताउँदै लकडाउन सधैं सम्भव नहुने भएकाले विज्ञानले विकास गरेको प्रविधिलाई प्रयोग गरेर कोरोनालाई नियन्त्रण गर्नुपर्ने बताए । उनले सर्वसाधरणको भीडभाड हुने स्थान अस्पताल, सरकारी कार्यालयहरु, डिपार्टमेन्टल स्टोर्स लगायतमा यस्तो स्वचालित सेनिटाइजर टनेल राख्नुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले इन्जिनियरहरुले बनाएको यो सेनिटाइजर टनेललाई पोखराको ब्रान्ड बनाउनुपर्ने बताए । सेनिटाइजर टनेलले कोरोना संक्रमणलाई रोकथाम गर्न सहयोग पु¥याउने जिसीले बताए ।

करिब ५ सेकेन्डमा यो स्वचालित सेनिटाइजर टनेलले होलबडीलाई सेनिटाइज गरिसक्ने नेपाल इन्जिनिरिङ एसोसिएसन गण्डकीका अध्यक्ष आर्कीटेक इन्जिनियर बाबुराम भण्डारीले जानकारी दिए । उनले गण्डकी प्रदेश र पोखरालाई कोरोना भाइसरबाट सुरक्षति राख्नका लागि गण्डकी प्रदेश तथा पोखराका नाकाहरुमा यस्तो सेनिटाइजर टनेल राख्नु पर्ने बताए । सेनिटाइजर टनेल निर्माणमा १ लाख ५० हजारको सामग्री लागेको भण्डारीले बताए ।

नेपाल इन्जिनियरिङ एसोसिएसन गण्डकीका उपाध्यक्ष धु्रव भट्टराई सेनिटाइजर टनेलको माग आएको खण्डमा प्राविधिक सहयोग निशुल्क गर्न एनइए तयार रहेको बताए । प्रगतिशील इन्जिनियरिङ एसोसिएसन नेपालले समेत एक थान सेनिटाइजर टनेल निर्माण गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई उपलब्ध गराउन तयारी समेत गरेको भट्टराईले जानकारी दिए । उनका अनुसार एक लिटर सेनिटाइजरले १७ जनाको शरीरलाइ सेनिटाइज गर्नेछ ।

सम्बन्धित खवर