भिमराज अधिकारी, पथरी
राइसमिलमा काम गर्ने कर्मचारीलाई उद्योग वाणिज्यसंघका अध्यक्षले हात हालेको आरोप लागेको छ । बुधबार मोरङको पथरी शनिश्चरे २ मा रहेको विश्वहाङ राइस मिलमा कार्यरत श्रमिक लक्ष्मी मण्डललाई पथरी उवासंघका अध्यक्ष दिपक बस्नेतले हात हालेका हुन् ।
तलाईँ फुटबल खेल्छु भन्दै कठालोमा समातेको मण्डलले बताए । राहत वितरणका लागि आवश्यक पर्ने चामल खरिदका लागि भनेर राहत वितरण तथा अनुगमन उपसमिति संयोजक नगर उपप्रमुख यमुना विष्ट, सदस्य उवासंघ अध्यक्ष दिपक बस्नेत, इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिप कुमार गिरीको टोली मिलमा पुगेको थियो । मिलमा पुग्ने वितिकै बस्नेतले आफुलाई यो कालोबजारी हो, यसलाई गाडीमा हाल्नुस भनेर सटमा समातेर तान्दै प्रहरीको गाडी भएको ठाँउमा ल्याएको मण्डलले बताए ।
डिएसपी गिरीले भयो छाडीदिनुस न भनेपछि फेरी मिल छेउमा पुगेका मण्डललाई तलाई फुटबल खेल्छु, तेरो कानको जाली फुटाइदिउँ भन्दै तानेपछि उपमेयर विष्टले छुट्याएको सो मिलमा कार्यरत श्रमिकहरुले बताए । बस्नेतले माधक पदार्थ समेत सेवन गरेर आएको उनिहरुले बताएका छन् ।
अध्यक्ष बस्नेतले मिलमा आउनु अगाडी नै फोनमा चामल सोधेको र आफुले चामल शुक्रबार मात्रै दिन सक्ने भनेपछि बस्नेतले मिलमै आउछु भनेका थिए । मिलका साहु दिपक राई पुजाआजाका लागि खोटाङ गएको र लकडाउनका कारण आउन पाएका छैनन् । मिल संचालनको जिम्मा मण्डललाई दिइएको छ । आर्थिक कारोवार हेर्ने लेखापाल खगेन्द्र सुवेदी विहान १० बजे मिल बन्द गरेर घर गएका थिए ।
नगरले पहिलो चरणको राहत वितरणका लागि लगेको चामलको रकम हिजो चेक भुक्तानी गरेको सुवेदीले बताए । सुवेदीले भने हिजो चेक र बाँकी २५ केजीको १ सय बोरा चामल तयार गर्दै गर्नु भनेर पत्र दिएको तर चामल कहिले सम्म चाहिने, कति रेट पर्ने केही पनि सल्लाह भएको थिएन । मिलमा कालो बजारी भएको हो भने चाबी लगाए हुन्छ तर यसरी काम गर्ने श्रमिकलाई मिलमै आएर हातपात गर्न पाइदैन । धानको दाम बढेका कारण चामलको पनि केही दाम बढेको सुवेदीले बताएका छन् ।
संगै रहेका डिएसपी गिरीले सामान्य विवाद जस्तो भएको तर हात हालेको आफुले नदेखेको बताए । ‘आफु अलिक अगाडी मिलबाट बाहिरिएकाले त्यस्तो हात हालाहाल भएको थाहा पाइन । म बाहिर निस्कीएको बेला हो भने मलाई थाहा भएन । सुरुमा चैँ सामान्य विवाद भएको हो ।’ गिरीले भने ।
यता उप मेयर विष्टले अन्य मिलको भन्दा वढी मुल्यमा बेचिरहेको, फोनमा चामल छैन भनेको तर मिलमा चामल पनि रहेको र आफ्नो नगरमा नपुगी अन्य नगरमा नलैजान भनेको तर त्यसरी हात हालेको विषय गलत रहेको बताइन् । महामारीको समयमा सबैले सहयोग गर्नुपर्नेमा यहाँ छैन भनेर अन्य पालिकामा बिक्री गर्न लागेकाले सम्झाएको विष्टले बताइन् ।
अध्यक्ष बस्नेत केही समयपछि सोही मिलमा आइपुगेका थिए । उनले यस्ता कालो बजारीलाई भोली नै चाबी लगाइदिने भन्दै फर्किए । मिलले अघिल्लो पटक ३९ सयमा नगरलाई उपलब्ध गराएको चामल अहिले ४४ सय भन्दा कममा दिन नसक्ने बताएको छ । मिलाका श्रमिकहरुले आफुहरुलाई असुरक्षा भएको भन्दै भोलिदेखि मिल बन्द गर्ने बताएका छन् । यदि मिलमा कालो बजारी भएको भएमा कानुनी दायरामा ल्याउनु पर्नेमा उद्योग वाणिज्यसंघका अध्यक्षले नै दुव्र्यवहार गरेको भन्दै स्थानीयले पनि आक्रोस व्यक्त गरेका छन् ।