पथरी, मोरङको पथरी शनिश्चरे रहेको नगर अस्पतालमा २६ जनाको कोरोना परीक्षण गरिएको छ । बुधबार गरिएको परीक्षणमा सबैजनाको रिपोर्ट नगेटिभ आएको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिनुभयो ।
पथरी शनिश्चरेको २५ जना होम क्वारेनटाइनमा रहेका थिए । विभिन्न देशबाट कोरोना महामारी फैलिएपछि नगरमा आएका उनिहरुलाई घरघरमा गएर पटक पटक ज्वरो नाप्ने र आवश्यक सल्लाह सहित स्वास्थ्य चेकजाँच गरिरहेका संयोजक आचार्यले पनि आफ्नो कोरोना परीक्षण गराउनु भएको हो । ¥यापिट टेस्ट किट मार्फत गरिएको परीक्षणमा केही संकास्पद रहेका २ जनाको थ्रोट स्वाव संकलन गरिएको छ । पिसीआर पद्धतीबाट परीक्षण गरेर केही दिनमा नै उनिहरुको रिपोर्ट आउने छ । रिपोर्ट आएपछि उनिहरुको पनि पोजेटिभ वा नेगेटिभ भन्ने टुङ्गो लाग्ने आचार्यले जानकारी दिनुभयो ।
यस्तै नगरका अन्य १० जनालाई कोरोनाको आशंका गरेर प्रदेश स्तरीय मिक्लाजुङको टाँडी क्वारेनटाइनमा राखिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । १० जना मध्ये ९ जना यसअघि नै परीक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किएका थिए । बाँकी रहेका १ जनाको पनि आज परीक्षण गर्दा नेगेटिभ आएपछि घर फर्किएको आचार्यले जानकारी दिनुभयो ।
यसरी हेर्दा हाल सम्म पथरी शनिश्चरेका जम्मा ३६ जनाको कोरोना परीक्षण भएको छ । ३६ जनाको परीक्षण गर्दा पनि कोरोना पोजेटिभ नआएपछि पथरी शनिश्चरेमा हाल कोरोना नभएको पाइएको हो । परीक्षण गरिएका हरुको नेगेटिभ आएता पनि लकडाउनको अवधिभर सबैजनालाई होम क्वारेनटाइनमा नै रहन नगरले अनुरोध गरेको छ ।