उदयपुर : उदयपुरमा एक व्यक्तिले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख (एसपी) अगाडी नै पासको दुरुपयोग गरेको पाईएको छ । सिजिएनएस सिड्स प्रा.लि. सुनसरीका प्रतिनिधि स.१० प ७२११ नम्बरका मोटर साइकल चालक विपिन पराजुलीले उदयपुरका प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी, सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगर, सशस्त्र प्रहरी बल नेपाल ५ नं. गण हेडक्वाटर त्रियुगा उदयपुरका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक (एसपी) गाहर्धन राई सहितको टोली अगाडी नै पासको दुरुपयोग गरेको पाईएको छ ।
जिल्ला प्रशासन कार्यालय उदयपुरले मिति २०७७ बैशाख ३ गतेको लागि आवतजावत गर्नको लागि पास जारी गरेपनि पराजुली सहित दुई जनाले बैशाख २ गतेदेखि नै पासको दुरुपयोग गर्दै आएको चेकजाँचमा फेला परेको छ । पासमा गाईघाटबाट कोशी गाउँपालिका वडा नं. ४ कटान गई फर्किने प्रयोजनको लागि जारी गरेपनि पराजुली सहित दुई जनाले बैशाख २ गते नै लालपत्ता लगायतको क्षेत्रमा आवतजावत गरी पास दुरुपयोग गरेको पाईएको छ ।
सिडियो, एसपी सहितको टोलीले त्रियुगा नगरपालिका ६ लालपत्तामा क्वारेन्टाइन निर्माणको लागि अनुगमन गर्ने क्रममा पराजुली सहित दुई जनाले पासको दुरुपयोग गर्दै गरेको रंगेहात समातेको थियो । पासमा एक जनाको लागि मात्रै बैशाख ३ गते तरकारीको विषादी लिन गाईघाटबाट कोशी गाउँपालिका ४ कटान गई फर्कि आउने प्रयोजनको लागि उपलब्ध गराईएको थियो तर पराजुलीले बैशाख २ गते नै पासको दुरुपयोग गर्दै तरकारी लिन लालपत्ता लगायतका क्षेत्र घुमफिर गरेको पाईएको प्रहरीले जानकारी दिए ।सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले पास दुरुपयोग भएको विषयमा जुन मितिको लागि पास प्रयोग गर्ने अनुमति दिइएको छ सोही मितिमा प्रयोग गर्ने र जुन प्रयोजनको लागि प्रयोग गर्ने भनिएको छ सोही प्रयोजनको लागि मात्रै पास पाउने भएकाले पास दुरुपयोग गर्नेहरुलाई कडाई गर्न लागिएको बताए ।
प्रहरी प्रमुख बिरबहादुर बुढामगरले पनि पासमा कति जनाको लागि अनुमति लिएको छ ? कहाँबाट कहाँ जाने ? कहिले फर्किने ? के कामका लागि जाने ? कुन मितिमा जाने आउने ? विषयमा प्रहरीलाई स्पष्ट चेकजाँच गरेर पठाउन निर्देशन दिईएको छ । कसैले पास दुरुपयोग गरेको पाइए कानून बमोजिम कारबाही गर्न पनि निर्देशन दिइएको छ ।
