लकडाउनबाट प्रभावितलाई रतुवामाईले सुरु गर्यो राहत वितरण

लकडाउनबाट प्रभावितलाई रतुवामाईले सुरु गर्यो राहत वितरण

प्रबेश बिष्ट , इटहरा : मोरङको रतुवामाई नगरपालिकाले लकडाउनबाट प्रभावित ज्याला मजदुरी गरेर गुजरा चलाउँदै आएका विपन्न परिवारलाई राहत वितरण सुरु गरेको छ ।

नगरका सबै वडाबाट राहतका लागि सिफारिस भएर आएका विपन्न परिवारलाई नगरपालिकाले सोमबारबाट राहत वितरण सुरु गरेको हो । सोमबार वडा नम्बर ३ बाट राहत वितरण सुरु गरिएको नगरप्रमुख रविन राईले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर ३ मा राहत पाउने घरपरिवारको सङ्ख्या ५ सय २३ रहेको छ ।

तर उक्त सङ्ख्यामध्ये सोमबारसम्ममा ४ सय ७८ घरपरिवारले मात्र राहत सामाग्री बुझेको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । राहतका लागि छनोट भएका तर लिन बाँकी रहेका अन्य परिवारको राहत सामाग्री वडा कार्यलयमा पठाइने पनि उहाँले बताउनुभयो ।

यसैगरी मंगलबार वडा नम्बर २ मा राहत वितरण गरियो । वडा नम्बर २ मा ६ सय ३ घरपरिवारलाई राहत प्रदान गरिएको मेयर राईले बताउनुभयो ।


राहत सामाग्रीको प्याकेजमा प्रति परिवारलाई १५ केजी चामल, एक किलो दाल, एक किलो नुन, एक लिटर खाने तेल र एउटा साबुन वितरण गरिएको छ । यसैगरी क्रमशः नगरका १० वटै वडामा राहत वितरण गरिने मेयर राईले जानकारी दिनुभयो । नगरपालिकाका १० वटा वडामा राहतका लागि ५ हजार १ सय ९६ परिवार छनोट गरिएको छ ।

सम्बन्धित खवर