सिरहामा भारतीय र सशस्त्र प्रहरी बलबीच झडप

सिरहामा भारतीय र सशस्त्र प्रहरी बलबीच झडप

 

राजेन्द्र महतो, लहान : सिरहाको सिरहा नगरपालिका वडा नं २० लगडीगदीयानीमा लकडाउनलाई उल्लंघन गर्दै नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिक र सशस्त्र प्रहरी बलबीच झडप भएको छ ।

नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई फर्काइदिएको भन्दै सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने भारत महुलियाका मोहनकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

यादव भारतीय सीमा सुरक्षा बल ६२७ बटालियन सिलिगुडिमा कार्यरत रहेको खुलेको सिरहा प्रहरीले बताएको छ ।

इकलमा ५ पोका ल्याक्टोजिन दूध बोकेर सोमबार बिहान ११ बजे नेपाल प्रवेश गरेका भारत बिहार महुलियाका राजेन्द्रकुमार यादवलाई सीमामा खटिएका सुरक्षा बलले रोकेर भारत फर्काइदिएको थियो ।

यादव फर्किएको केहीबेरमै महुलियाबाट १८–२० जनाको समूहमा आएका व्यक्तिहरुले नेपाल–भारत सीमाभन्दा दुई सय मिटर वर नेपालतर्फ प्रवेश गरी सीमामा तैनाथ सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गरेका थिए । भारतीयहरुले प्रहार गरेको ढुंगा लागेर सशस्त्र प्रहरी जवान राजनकुमार चौधरी घाइते भएका छन् । उनको सिरहा अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेका यादव राजेन्द्रकुमारका छोरा हुन् । आफ्नो बाबुलाई नेपाली सुरक्षाकर्मीले फर्काएपछि उनको समुहले नेपालमा छिरेर नेपाली सुरक्षाकर्मीलाई आक्रमण गरेको थियो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईंले घटनाका बारेमा थप अनुसन्‍धान भइरहेको बताए।

सम्बन्धित खवर