लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले लियो नियन्त्रणमा

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले लियो नियन्त्रणमा

उदयपुर । जिल्लामा लकडाउन थप कडाई बन्दै गएको छ । आइतबार लकडाउन अवज्ञा गरेको आरोपमा ४१ जना पक्राउ परेको छ भने शनिबार ३३ जना पक्राउ परेको थियो ।

कोरोना संक्रमण रोक्न सरकारले गरेको लकडाउनको अवज्ञा गर्दै मानिसहरु अनावश्यक बाहिर हिंडडुल गरेपछि प्रहरीले कडाई गर्ने क्रममा आइतबार थप ४१ जनालाई नियन्त्रणमा प्रहरी क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । आइतबार मोटर साइकल ४ वटा, ठूलो सानो सवारी साधन ३ वटा, साइकल २ वटा र अटो एउटा नियन्त्रणमा लिइएको थियो । एसपी मगरका अनुसार आइतबार पक्राउ परेको सवैलाई नोवेल कोरोना भाइरस बारे जानकारी र लकडाउन गर्नुको उद्देश्य सहित स्किनिङ गरेर छोडिएको बताए ।

यस्तै मादक पदार्थ सेवान गरेका दुई जनालाई प्रहरी हिरासतमा राखिएको छ भने ३९ जनालाई साँझसम्म छोडिएको थियो ।
अन्य दिनको तुलनामा शनिबार र आइतबा सदरमुकाम गाईघाटमा भने निकै कडाई गर्नुका साथै प्रहरीले बिहानैदेखि घर बाहिर ननिस्कन भन्दै माइकिङ समेत गरेको थियो । शनिबार ३३ जना, शुक्रबार ७ जना, विहिबार एक जना र २४ गते ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
अहिलेसम्म ४८५ स्कुटर र मोटरसाइकल, १५२ वटा ठूलो सानो सवारी साधन, १२२ वटा साइकल, १० वटा अटो र १३७ वटा मोटर साइकलको चावी नियन्त्रणमा लिइएको प्रहरी कार्यालयले जनाएको छ ।
लकडाउनको अर्थ घरमै सुरक्षित भएर बस्ने भन्ने मात्र नभई विश्वलाई फैलिरहेको कारोना भाइरसको संक्रमण फैलन नदिनु भएकाले यसप्रति लापरवाही गर्नेलाई अव कारवाही हुने एसपी मगरले बताए । लकडाउन अवज्ञा गर्नेलाई अव रोग संक्रमण सम्बन्धी ऐन अन्तर्गत मुद्दा चलाइने बताए ।

सम्बन्धित खवर