लहानमा लकडाउनको पूर्णपालना /तस्बिर : राजेन्द्र महतो
चैत २८, लहान : कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोकथामका लागि लकडाउन घोषणा गरेपछि देशका सबै सडकहरु सुनसान छन् ।
मानिसहरु हिँडडुल गर्दा एक अर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतराका कारण सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई बाहिर ननिस्कन आग्रह गरेको छ । सरकारले अत्यावश्यकको काम बाहेक बाहिर निस्कन पूर्ण रोक लागाएको छ । लक डाउन लगाएसँगै देश नै सुनसान बनेको छ ।
कोरोना भाईरसबाट अहिले विश्व नै आतंकित बनिरहेको छ । चीनको वुहान सहरबाट सुरु भएको यसको संक्रमण अहिले २ सय ८ देशमा फैलिसकेको छ ।
त्यस्तै प्रदेश नम्बर २ मा रहेको मुख्य व्यापारिक केन्द्र सिरहाको लहान पनि सुनसान बनेको छ । यहाँका सडक तथा बजार क्षेत्र पनि यतिबेला सुनसान र शान्त छ । लहानबासीले सरकारको निर्देशनको पूर्णपालना गर्दै कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् ।
सरकारले लगाएको लक डाउनको १७ औँ दिन शुक्रबार पनि लहानका सडक तथा बजार क्षेत्र सुनसान छन् । दैनिक उपभोग्यका पसलहरु भने प्रशासनको निर्देशन बमोजिम तोकिएको समयमा मात्र खुल्ने गरेका छन् ।
लक डाउनको अवज्ञा गर्दै विनाकाम हिँडडुल गर्ने सवारी साधन चलाउनेलाई लकडाउनको कार्यान्वयन गराउन खटाईएका सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिने गरेको छ ।