विदेश त्यागेर आफ्नै गाँउमा उद्यमी बन्दै युवाहरु

विदेश त्यागेर आफ्नै गाँउमा उद्यमी बन्दै युवाहरु

इटहरा : कोरियाको मासिक ३ लाख रुपैयाँभन्दा बढी कमाएर पनि सन्तुष्ट नभएपछि आफ्नै गाँउ फर्केर कृषिमा लाग्ने सोच बनाउनुभयो ठगेन्द्र न्यौपानेले । त्यही अठोटका साथ उहाँले विदेशिएका युवाहरुलाई स्वरोजगार बनाउन रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको स्थापना गरी युवाहरुलाई एकजुट बनाउन लागि पर्नुभयो ।

विदेशको रोजगारी छाडेर स्वदेश फर्किएका र विदेशमै श्रम गरिरहेका मिलेर अहिले रतुवामाईका व्यपसायिक कृषि उद्यम सुरु गरेका छन् । रतुवामाई वैदेशिक रोजगार समन्वय समिति नाकम संस्था दर्ता गरी व्यवसायिक कृषि उद्यम सुरु गरिएको हो ।

न्यौपाने यही लक्ष्यका साथ नेपाल आएर हाल कृषिमा निर्भर बन्नका लागि व्यस्त हुनुुहुन्छ । उहाँले आफू मात्र नभई आफ्ना गाँउठाँउका सबै बेरोजगार युवाहरुलाई समेटेर सहकार्य गरिरहनु भएको छ । उहाँको यस कामले धेरै युवाहरुलाई विदेशिने रहर मरेको छ ।

पछिल्लो केहि समययता रतुवामाई वैदेशिक रोजगार समन्वय समितिको देखासिकी गरेर नगर क्षेत्रका अन्य युवाहरुले पनि कृषि क्षेत्रलाई महत्त्व दिन थालेका छन् । कमाई राम्रो हुँदा हुँदै पनि उहाँ लामो समय विदेशमा टिक्न सक्नु भएन । त्यसपछि उहाँले आफ्नै गाँउघरमा गएर केही गर्ने योजनाका साथ नेपाल फर्कनुभयो । कोरिया पुगेको साँढे चार वर्ष पछि न्यौपाने नेपाल फर्कनु भएको हो ।

मोरङको रतुवामाई नगरपालिकाका युवाहरु कृषिमा आकर्षित हुन थाले पछि उक्त संस्थाले युवाहरुलाई स्वरोजगार बनाउने प्रयास गरिरहेको छ । रतुवामाई वैदेशिक रोजगार समन्वय समितिका अध्यक्ष समेत रहनु भएका ठगेन्द्र न्यौपानेले विदेशमा गर्ने कडा परिश्रम स्वदेशमै गर्न सके अवश्य आत्मनिर्भर बन्न सकिने बताउनुहुन्छ ।

अहिले उक्त संस्थाले जग्गा भाडामा लिएर खेती गरिरहेको छ । संसथाले रतुवामाई नगरपालिकामा करिब १५ विगाह जमिन भाडामा लिएर तरकारी खेती, मकै खेती, च्याउ लेती लगायतका काम अघि बढाएका छन् ।

‘युवाहरु मिलेर व्यवसायिक कृषि उद्यममा लागेका छौ’, न्यौपानेले भन्नुभयो, “कृषि, पशुपालन र उद्योगमा व्यवसायिकरण गरी परनिर्भरता हटाउने हाम्रो उद्देश्य हो ।” उहाँका अनुसार समितिका केही सदस्यहरु अझै विदेशमै श्रम गरिरहेका छन् । यहाँ व्यवसाय द्रुत रुपमा अघि बढेपछि उनीहरु काम गर्न आउँछ्न ।

तर कोभिड १९ नामक कोरोना भाईरसका कारण सरकारले लकडाउन लगाएपछि यो संस्था चिन्तित बनेको । कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि लकडाउन घोषणा गरेपछि मानिसहरु अतिआवश्यक कामबाहेक घरभित्रै बसेका छन् ।

उत्पादन गरेको च्याउ बजारसम्म पुर्याउन कठिनाई भएपछि च्याउ कुहिएला की भन्ने चिन्ता थियो । तर अहिले संस्थाले नोक्सान जानबाट बच्न आफ्ना सदस्यहरुलाई गाँउगाँउमा च्याउ बेच्न पठाएको छ । संस्थाका अध्यक्ष न्यौपानेसहित रुपेश ढकाल , रमेश पौडेल, विकाश राजवंशी अहिले मोटरसाइकलमा च्याउ बिक्री गर्दै छन् ।

संस्थाका प्रतिनिधिहरुले नगरका विभिन्न क्षेत्रमा दैनिक च्याउ बेच्दै आइरहेका छन् । रतुवामाई वैदेशिक रोजगार समन्वय समितिले सरकारको निर्देशनको पूर्णपालना गर्दै नगरपालिकाले तोकेको समयमा बिक्री वितरण गर्दै आएको अध्यक्ष न्यौपानेले बताउनुभयो ।

सम्बन्धित खवर