वडा कार्यालय बनाउन आएका निर्माण मजदुर अलपत्र ः न राहत छ, नत ज्याला नै

वडा कार्यालय बनाउन आएका निर्माण मजदुर अलपत्र ः न राहत छ, नत ज्याला नै

भिमराज अधिकारी, पथरी

वडा कार्यालयको भवन बनाउन आएका निर्माण मजदुरहरु अलपत्र परेका छन् । पथरी शनिश्चरे २ नं. वडा कार्यालयको भवन निर्माणको काममा खटिएका १४ जना मजदुरहरु अहिले न त घर जान पाएका छन् न त ज्याला नै पाउने अवस्थामा छन् ।

वडाको भवन निर्माणको जिम्मा पाएको पर्शुराम निर्माण सेवाका १४ जना मजदुर अहिले वडाको भवन बनाउने भन्दापनि छिमेकीको मकै गोड्ने, दाल उखल्ने, आलु खन्ने लगाएतका काम गरिरहेको ठेकेदार कुमार थापाले बताए । ‘‘गोजीमा पैसा छैन्, बैंकहरु पनि खुल्ला छैनन्, लक डाउनले गर्दा अहिले कतैबाट पनि केही ल्याउने, कही जाने कुनै अवस्था छैन्’’ थापाले भने ‘‘यही वरीपरी छिमेकीसंग चामल, दाल, गुन्द्रुक मागेर काम चलाउदै छौँ । आखिर नेपालीले पाउने हो राहत, यहाँ काम गर्ने मजदुरलाई पनि त वडाले भोकै राख्नु त हुदैन थियो ।’’
यहाँ काम गर्ने सबै मजदुरहरु कैलालीबाट आएका हुन् । वडा बाहिरकालाई नदिने र ठेकेदारले नै आफ्नो व्यवस्थापन मिलाउनुपर्ने वडाले भनेको थापाले बताए ।

घरमा ५ जनाको परिवार छाडेर मजदुरी गर्न आएका हरिराम कुस्मी लकडाउनले अलपत्र परेको बिलौना गर्छन् । ५ जनामा आफु एक्लै कमाउने भएकाले यसरी मजदुरी गर्नेलाई समस्यामा पारेको कुस्मीले बताए । बन्द वा लकडाउनको समयमा काम चलेन भने आफ्नो ज्याला नआउने भएपछि कुस्मीलाई परिवार कसरी पाल्ने भन्ने चिन्ता छ । ‘‘मासिक १३, १४ हजार हुन्छ, अब काम नै नभएपछि ज्याला पनि पाइदैन् खै के गर्ने सरकारले पनि हेरेन ।’’

यस्तै समस्या छ जित बहादुर डगौराको पनि । डगौराका बाबुछोरा नै संगै काम गर्छन् । यसरी लकडाउन भएपछि नत घरजान पाइयो नत खाने चामल छ । काम नभएपछि ज्याला पाइदैन खै के लिएर घरजाने ? परिवार पाल्न ज्याला गर्न आउँदा आपत परेको गुनासो डगौराले गरे । उनिहरु निरन्तर १६ वर्षदेखि पर्शुराम निर्माण सेवामा नै काम गर्दै आएको डगौराले बताए ।

यता वडा अध्यक्ष यम प्रसाद गुरागाँईले मजदुरलाई राहत दिने विषयमा कार्यपालिका बैठकमा कुरा पटक पटक उठेको भएता पनि निर्णय हुन बाकीँ रहेको बताए । हाल सम्म ठेकदार मातहतमा मजदुरलाई राहत दिने विषयमा निर्णय नभएका कारण पहिलो चरणमा राहत दिन नसकिएको गुरागाँईले बताए ।

पर्शुराम निर्माण सेवाले वडा नं. २, ३, ७, ८ र ९ को वडा कार्यालय भवन बनाउने जिम्मा पाएको छ । यस बाहेक वडा नं. २ को बाटो ग्रभेलको काम पनि रहेको ठेकेदार केदार थापाले बताए ।

सम्बन्धित खवर