मल पाए पछि किसानहरु खुसी तर सामाजिक दुरीको उल्लंघन (तस्बिरहरु)

मल पाए पछि किसानहरु खुसी तर सामाजिक दुरीको उल्लंघन (तस्बिरहरु)
मंलबार रतुवामाईको इटहरा र दाम्राभिट्टामा युरिया मल लिन आउनेको भिड / तस्बिर : प्रबेश बिष्ट

मंगलबार बिहानको करिब ६ बजेको थियो । मोरङको रतुवामाई नगरपालिकामा रहेको दाम्राभिट्टा र इटहरा बजारमा मानिसहरुको चाप बढ्दोस्थितिमा थियो । सबैको हातमा एउटा एउटा बोरा थियो । जसको कारण थियो किसानलाई मल बाड्नु ।

लामो समयदेखि खेतबारीमा मल हाल्न नपाएका किसानहरु युरिया मल पाउनका लागि लाइनमा थिए । उनीहरु आफ्नो पालो कहिले आउछ र मल लिएर जाऊ भन्ने पर्खाइमा थिए ।

लकडाउन नहुने हो भने यतिबेला यहाँका किसानहरु कृषिबालीमा आवश्यक युरिया, डिएपी, पोटास, सल्फर, जिङ्कसँगै जैविक मल लगाउन व्यस्त हुने गर्दथे । कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिमलाई रोकथाम गर्न सरकारले लकडाउन घोषणा गरेपछि किसानहरु घर भित्रै बस्न बाध्य थिए । लकडाउन कै कारण सबै क्षेत्र ठप्पजस्तै बनेको थियो ।

त्यसको असर कृषि क्षेत्रमा पनि देखिएको छ । लकडाउनका समयमा घरभित्रै बसिरहेका किसानहरुलाई भने मल पाइने सहकारीमा मल नपाएपछि उत्पादनमा कमि आउला भन्ने चिन्ता थियो । तर मंगलबार दाम्राभिट्टाको एक कृषि पसल र इटहराको कृषि सहकारीले मल बैच्दैछ भन्ने पत्तो पाए पछि किसानहरु बिहान सबेरै सहकारी अगाडिको बाटोमा लाइन बसिरहेका थिए ।

“हामीलार्ई समयमै आवश्यक रासायनिक मल तथा जैविक मलको सहज उपलब्ध नभए उत्पादनमा गिरावट आउँछ की भन्ने डर थियो तर लामो लाइन बसेरै भए पनि मल त पाइयो” एक किसानले खुसी व्यक्त गर्नुभयो ।

मल लिन आएका सबै किसानहरु आ–आफ्नै सुरतालमा थिए । कोही साइकलमा मलको बोराले हालेर बाटामा ठेल्दै थिए त कोही गफ गर्दै । कोही पछाडीको व्यक्तिले पालो मिचेको भन्दै हल्ला गर्दै थिए । सामाजिक दुरीको पालना नगरे पनि सबै मास्क चाहीँ लगाएरै आएका थिए । तीमध्ये केहीले सलले मुख छोपेका थिए ।

तर मल वितरण गर्दा सरकारले निर्देशन गरेको सामाजिक दुरी भने कसैले पालना गरेको देखिएन । यसमा सरोकारवालाहरुले समयमै ध्यान नदिए संकट आइपर्न पनि सक्छ ।

सम्बन्धित खवर