रबिन्द्र बराल, रंगेली
लकडाउन उल्लंघन गरी भारतबाट मानिस आउन सक्ने आशंकामा सरकारले सीमा क्षेत्रमा ससस्त्र प्रहरीको अस्थायी क्याप स्थापना गरेको छ । सरकारले दोस्रो पटक वैशाख ३ गतेसम्मका लागि लकडाउन थपिएसँगै सीमा क्षेत्रको सुरक्षामा कडाइ गरिएको हो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को थप फौजलाई सीमा क्षेत्रमा तैनाथ गरिएको छ । लकडाउन थपिएसँगै आवतजावत माग गर्दै सीमा नाकामा लुकि छिपि नेपाल तर्फ मानिस आउन सक्ने भन्दै त्यसको नियन्त्रणका लागि सिमा क्षेत्रमा ससस्त्र प्रहरी थप केन्द्रित गरिएको हो ।
चैत्र ११ देखि लागू गरिएको लकडाउनको पालना र सीमा हुँदै आवतजावत रोक्न थप फौज परिचालन गरिएको मोरङका एसपी नेत्रबहादुर कार्कीले बताए । भारतमा रोजगारी गरिरहेका नेपालीलाई समेत सरकारले कोरोना संक्रमण फैलिन सक्ने भन्दै नेपाल प्रवेश गर्न नदिन र सीमामा कडाइ गर्न निर्देशन आएपछि थप फौजलाई परिचालन गरिएको कार्कीले बताए ।
कोरोनाविरुद्धको प्रतिकार्य योजना लागू र लकडाउन कार्यान्वयन गर्न सरकारले सीमा क्षेत्र लक्षित गरेर तैनाथी बढाएको र अहिले १ सय ५० जना ससस्त्र प्रहरीलाई नेपाल–भारत सीमामा खटाइएको हो । खटाइएका थप जनशक्ति पहाडी जिल्ला, मोरङ र सुनसरीका गण र बेशक्यापबाट ससस्त्र प्रहरी ल्याएको कार्कीले बताए ।
भारतीय सीमा जोडिएको बिराटनगरको केशलिया देखि मोरङको रतुवामाई नगरपालिकाको बरडङ्गा सम्ममा ३६ स्थानमा अस्थायी रुपमा सशस्त्र प्रहरीका बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) स्थापना गरिएको छ । अधिकांश बीओपीमा २५ जनाले मात्रै सुरक्षा दिदै आएकोमा अहिले सिमा सुरक्षको लागि जनशक्ति थप गरिएको छ । थपिएका जनशक्तिलाई अस्थायी युनिट खडा गरेर सीमाबाट मानिस आवतजावत हुन नदिन मोरङको धनपालथान अन्तर्गत तरिगमा, डुमरीया, खैरवना, पोखरी डिल, हनुमान मंन्दिर, भलुवा नयाँ टोल, आपपगाछि, मायाँगञ्ज गरि ७ स्थान र रंगेली नगरपालिकामा ३ स्थान र रतुवामाई र सुनवर्षीको नाकामा सिक्टि बोडर, सोनापुर, बल्डङ्गा, कुटुमगञ्ज, डोरिया, थालगाछि गरि १६ स्थानमा २४ घण्टा बीओपी स्थापना गरिएको कार्कीले बताए ।
विदेशबाट आएर परिवारका सदस्यलाई कोरोना संक्रमण सारेको भेटिएपछि नाकाबाट मानिस भित्रिन नदिन थप सतर्कता अपनाइएको हो । भारतले समेत सिमा सुरक्षामा बाक्लो उपस्थितिमा एसएसपीहरु समेत खटाएर आवत जावतमा थप कडाई गरेको छ ।