समुदाय प्रहरीमा नगरका १ सय जना युवा परिचालन

समुदाय प्रहरीमा नगरका १ सय जना युवा परिचालन

भीमराज अधिकारी, पथरी

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरेमा १ सय जना युवा परिचालन गरिने भएको छ । प्रत्येक वडाबाट १०÷१० जनाको टिम बनाएर परिचालन गरिने इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपी) दिलिप कुमार गिरीले बताउनुभयो ।

आइतबार नगरको वडा नं. १, ४, ७, र १० मा समुह तयार गरिएको छ । अन्य वडाहरुमा पनि क्रमशः समुह तयार गरिने गिरीले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय पथरीको मातहतमा कानेपोखरी गाउँपालिका पनि पर्दछ । कानेपोखरीका पनि ९ वटै वडामा समुह तयार हुनेछन् । सोमबार र मंगलबार भित्रमा दुवै पालिकामा तयार गरिएको समुहको नामावली प्रदेश प्रहरी कार्यालयमा पठाइने गिरीले बताउनुभयो । हाललाई कोरोना रोकथाम र न्यनिकरणका लागि विशेष फोकस रहेको भएता पनि भविष्यमा यहि टिमलाई नेटवर्किङ बनाएर समाजको अपराध न्यूनिकरण र रोकथाममा परिचालन गरिने गिरीले बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत ‘‘प्रहरीको साथि म’’ लेखिएको टिसट पनि ति स्वंमसेवकलाई प्रदान गरिएको छ । आवश्यक परेको खण्डमा प्रहरी संगसंगै पनि परिचालन गर्न पनि सकिने गिरीले बताउनुभयो ।

वडा नं. १ को समुह गठनका क्रममा बोल्दै नगर उप प्रमुख यमुना विष्टले स्वंमसेवकको माध्यमबाट कोरोना रोकथामका लागि अझ सहज हुने बताउनुभयो । इलाका प्रहरी कार्यालय पथरीले कोरोना रोकथामका लागि लकडाउनको पूर्ण रुपमा पालना गर्न अनुरोध गर्दै माइकिङ समेत गरिरहेको छ ।

सम्बन्धित खवर