यथासिघ्र राहत वितरण गरिने

यथासिघ्र राहत वितरण गरिने

पथरी, मोरङको पथरी शनिश्चरे नगर कार्यपालिकाको आजको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको बन्द (लकडाउन) का कारण समस्यामा परेका दैनिक ज्यालामजदुरी गर्ने विपन्न परिवारलाई यथासिघ्र राहत वितरण गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले राहत व्यवस्थापनको काम धमाधम भइरहेको उल्लेख गर्दै कार्यविधि अनुरुप वडा वडाबाट आएको तथ्यांकलाई हेरेर यथासिघ्र राहतका रुपमा खाद्यान्न वितरण गर्ने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

साथै उहाँले नगरपालिका कार्यालयले राहतका लागि आफ्नो विपद व्यवस्थापन कोषबाट तत्काललाई ३० लाख रुपैयाँ व्यवस्थापन गर्ने समेत निर्णय भएको पनि जानकारी गराउनु भयो ।

बैठकले, नगरस्तरीय राहत व्यवस्थापन तथा वितरणका लागि नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति समेत गठन गरेको उहाँले वताउनु भयो । समितिको सदस्यहरुमा, ८ नम्बर वडाध्यक्ष बाबुराम दहाल, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ६ नम्वर वडाध्यक्ष जयबहादुर तामाङ र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत रहनु भएको छ । यसका साथै वडाको सम्पर्क व्यक्तिका रुपमा प्रत्येक वडाका वडाध्यक्षलाई तोकिएको छ । प्रत्येक वडामा पनि वडाध्यक्षको संयोजकत्वमा कोरोना भाइरस जोखिम न्यूनिकरण तथा राहत समिति गठन गरिएको छ ।

कार्यपालिका बैठक अघि आजै ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को बैठक बसी राहतको योजना बनाएको थियो । नगर प्रमुख राईको संयोजकत्वको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को खातामा जम्मा भएको नगद तथा वडा वडामा जम्मा भएको खाद्यान्न सहितको राहतलाई वडा वडाका उपयुक्त स्थानहरुबाट भीडभाड नगरी वितरण गर्ने योजना रहेको छ ।

सम्बन्धित खवर