पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. ६ का विपन्न ३१ घरपरिवारका सुत्केरीले राहत पाएका छन् । वडा कार्यालयले विपतको बेलामा सुत्केरीहरुलाई राहत वितरण गरेको हो ।
वडाले आर्थिक अवस्था नजुक रहेका सुत्केरी परिवारलाई २५ केजी चामल, न्यानो कपडा, १ केजी घ्यु, २ लिटर तेल, झुल, साबुन लगाएतको सहयोग गरेको हो । राहत पाउनेमा अधिकांश मुसहर समुदायका रहेका छन् । आर्थिक वर्ष २०७५/०७६ को सुत्केरी राहत शीर्षकमा बिनियोजन गरिएको बजेटबाट राहत वितरण गरिएको वडा अध्यक्ष जय बहादुर तामाङले बताउनुभयो । सुत्केरीलाई भाले, चामल लगाएतको सहयोग गर्ने योजना रहेकामा लकडाउनका कारण भाले किन्न समस्या भएपछि घ्यु, चामल लगाएत सहयोग गरेको तामाङले बताउनुभयो ।
लकडाउनका कारण वडा कार्यालयमा कार्यक्रम गर्न नमिल्ने भएपछि विहिबार नगर प्रमुख दिलिप कुमार राई र अध्यक्ष तामाङले घरघरमा पुगेर राहत सामग्री वितरण गर्नुभएको हो । राहत बितरणमा सहभागी नगर प्रमुख राईले देश आपतकालिन अवस्थामा रहेकाले नगरबासीले स्वयम सुरक्षीत रहेर नगरलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।