राहतबारे जनप्रतिनिधि नै असन्तुष्ठ

राहतबारे जनप्रतिनिधि नै असन्तुष्ठ

सिन्धुली, २० चैत – कमलामाई नगरपालिकाले लकडाउनको समयमा बिपन्न बर्गका मजदुरलाई भन्दै बितरण गर्न सुरु गरेको राहत प्याकेज प्रति जनप्रतिनिधि नै असन्तुष्ठ बनेका छन् ।

कमलामाई नगरपालिका वडा नं. ४ ले बिहिबार आयोजना गरेको सर्बपक्षिय बैठकमा उक्त वडाका अध्यक्ष महेन्द्रप्रसाद ढकालले नगर प्रमुख खड्गबहादुर खत्रीले मनपरि ढंगले राहत बाड्दै हिडेको बताउनुभयो ।

“पहिलो कुरा त राहत प्याकेजको नामाकरण नै गल्ति छ,” उहाँले भन्नुभयो, “नगरपालिकाको बैठकले कहिले ‘नगर प्रमुख राहत प्याकेज’ भनेर निर्णय गरेको छ ? यो नगर प्रमुख खत्रीले व्यक्तिगत रुपमा आफु चर्चामा आउन मनलाग्दी गरेको व्यवहार हो ।” नगरपालिकाको प्रकोप व्यवस्थापन कोषबाट खर्च गरिने खर्चमा व्यक्तिगत रुपमा नगर प्रमुख राहत प्याकेज नामाकरण गरी गिटी कुट्ने मजदुरको नाममा राहत बितरण गर्नु आपत्तिजनक भएको उहाँको भनाई छ ।

वडा अध्यक्ष ढकालले भन्नुभयो, “प्रकोप व्यवस्थापन कोषमा व्यक्ति, सामाजिक संघ संस्थाले दिएर जम्मा भएको रकममा आफु खुशी नाम राखेर बितरण गर्न पाईदैन । बरु कमलामाई राहत प्याकेज नामाकरण गरेको भए हुन्थ्यो ।” मेयर खत्रीले आफु निकट कार्यकर्तालाई सँगै हिडाएर जथाभाबी राहत बाड्दै सामाजिक सञ्जाल फेसबुकमा नगर प्रमुख राहत प्याकेज लेखेको उहाँले बैठकमा सुनाउनुभयो ।

उहाँले गिटी कुट्ने मजदुरहरु पनि कतिपय गाँउ तथा सदरमुकाममा घर भएका पनि पाईएकोले उनीहरुको पनि छानविन गरी राहत बितरण गर्नुपर्नेमा जोड दिनुभयो । कमलामाई नगरपालिकाले जिम्मेवारी दिई सिन्धुली उद्योग बाणिज्य संघले चलाएको सुपथ मूल्यको पसल पनि विपन्न वर्गको लागि उपयुक्त नभएको उहाँको भनाई थियो ।

सुपथ मूल्यको पसलमा एक दुई केजीसम्म चामल र चिनी किन्न सक्ने मात्र हैसियत भएका विपन्न परिवारलाई सामान किन्ने अबसर नदिई बोरै सामान किन्नु पर्छ भन्ने गरेको गुनासाहरु आएकोले यो पसल पनि उपयुक्त नभएको वडा अध्यक्ष ढकालको भनाई थियो ।
बिश्वभरी नै म’हामा’रीको रुपमा फैलिएको को’रोना भा’ईरस बिरुद्ध सबै जना एक जुट भएर लाग्नु पर्ने उहाँले बताउनुभयो ।

लकडाउनको बेला काम गर्न नपाएर चुलो बालेर खान नपाएका मजदुरलाई राहत बितरण गर्न सङकलन भएको नामावलि प्रति छलफल गर्न बसेको उक्त सर्बपक्षिय बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ ।

हाल संकलन भएको नामावली प्रति छानविन गरी राहत पाउने बास्तविक दैनिक ज्यालादारी गरी छाक टार्ने व्यक्तिको नाम टुंग्याउन वडाका सदस्य दिपेन्द्र श्रेष्ठको संयोजकत्वमा सात सदस्यिय वडास्तरिय छानविन तथा समन्वय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा अमृतबहादुर श्रेष्ठ, सन्तोष श्रेष्ठ, इश्वर पोखरेल, अशोक राजभण्डारी र निरञ्जन देवकोटा रहेका छन् ।

लकडाउनका कारण व्यापार व्यवसाय, उद्योग बन्द भएकोले जीविको पार्जन गर्न डेरा गरी उक्त वडा भित्र बसेका व्यक्तिलाई बिजुली र खानेपानी बाहेक चैत महिनाको घरबहाल (भाडा) मिनाहा गर्न घर धनीलाई अनुरोध गर्ने निर्णय गरेको वडा सचिब उद्ब थापाले जानकारी दिनुभयो ।

त्यसैगरी लकडाउनको कारणले वडाभित्र दैनिक ज्याला दारी गरी छाक टार्नेहरु तथा आपतमा परेका मानिसलाई उद्धार गरी राहतको व्यवस्था मिलाउन नामावली तयार गरी कमलामाई नगरपालिकालाई अनुरोध गर्ने पनि बैठकले निर्णय गरेको छ ।

वडा भित्र रहेका विभिन्न उद्यमी, किसानहरुलाई लकडाउनको कारणले मल बिउ अभाव तथा कृषि मज्दुरहरुको समेत अभाव रहेकोले किसानहरुलाई विशेष राहत प्याकेजको व्यवस्था मिलाउने र यस वडाभित्र बस्ने आर्थिक रुपले विपन्न, दुर्गम, दलित, जनजाती बस्ति भएको कारणले यस वडालाई विशेष राहतको व्यवस्था मिलाउन नगरपालिकालाई अनुरोध गर्ने निर्णय भएको वडा अध्यक्ष महेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

सम्बन्धित खवर