पथरी, अमेरिका नेपाल मेडिकल फाउण्डेशनको पहलमा कोरोना संक्रमणबाट सुरक्षित भएर उपचार गर्ने नगर अस्पतालका स्वास्थ्यकर्मीका लागि मोरङको पथरी शनिश्चरे नगरमा व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) उपलब्ध भएको छ ।
फाउण्डेशनका अध्यक्ष पथरी शनिश्चरे नगर निवासी डाक्टर भूपेन्द्रकुमार वस्नेतको पहलमा १० थान विशेष पीपीइ, १० थान फुलबडी सेफ्टी गाउन र १० थान इएन वान ४९ मास्क उपलब्ध भएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार रामकुमार बस्नेतले आज नगर प्रमुख दिलीपकुमार राई, पथरी नगर अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईं सहितलाई नगर अस्पतालमा हस्तान्तरण गर्नुभयो । ती सामग्री पथरी नगर अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी र नगरले सञ्चालन गरेको एम्बुलेन्सका चालकलाई प्रदान गरिने जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । नगर अस्पतालले कोरोना संक्रमणको आशंका भएकाहरुका लागि १० बेडको आइसोलेसन वार्ड समेत तय गरेको छ ।