रविन राईको संयोजकत्वमा कोरोना रोकथामका लागि सर्वदलिय समिति गठन

रविन राईको संयोजकत्वमा कोरोना रोकथामका लागि सर्वदलिय समिति गठन

चैत १८, इटहरा : मोरङको रतुवामाई नगरपालिकामा कोरोना भाईरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सर्वदलिय समिति गठन गरिएको छ ।
सोमबार नगरप्रमुख रविन राईको अध्यक्षतामा बसेको सर्वदलिय बैठकले कोरोना भाईरस रोकथाम प्रतिकार्य, समन्वय र व्यवस्थापनका लागि समिति गठन गरेको हो ।

नगरप्रमुख राईको संयोजकत्वमा गठित समितिमा उपप्रमुख दयन्तादेवी चुडाल, राजनितिक दलका प्रतिनिधि र सुरक्षा निकायका प्रमुखहरु सदस्य रहनु भएको छ ।

नेपाली काङ्ग्रेसबाट जीवन पनेरु, नेकपाबाट शिवनारायण राजवंशी र संघिय समाजवादी पार्टीबाट कृष्णप्रसाद ढकाल सदस्य रहनु भएको छ । त्यसैगरी राप्रपाबाट पुर्ण पौडेल र राजपाबाट निमचन साह सदस्य रहनु भएको छ । नगरभित्र रहेका सबै सुरक्षा निकायका प्रमुखहरु पनि सदस्य तोकिनु भएको छ ।

सर्वदलिय समिति गठनसँगै लक डाउन अवधिमा अनिवार्य आवश्यकताको परिपूर्तिका लागि ६ वटा निर्णय गरिएको छ ।

सागसब्जी, खाद्यान्न लगायतका अत्यावश्यक सामाग्री किनमेल र व्यवस्थापनका लागि हप्ताको २ दिन तोकिएको छ । , आईतबार र बुधबार दिउँसो ३ देखि साँझ ६ बजेसम्म किनमेल र व्यवस्थापन गर्ने व्यवस्था मिलाईने भएको छ । कृषि कार्यका लागि आवश्यक पर्ने मल, बिऊ, विषाधी लगायतका सामाग्रीको पसल पनि उक्त समयमा नै किनबेच गर्नुपर्ने व्यवस्था गरिएको छ ।

दैनिक ज्याला मजदुरी गरेर जीविको पार्जन गरिरहेका विपन्न वर्गका नगरबासीलाई खाद्यान्न राहत उपलब्ध गराईने भएको छ । यसका लागि वडास्तरीय समितिले त्यस्ता व्यक्तिहरुको लागत संकलन गरी नगरपालिकामा पेश गर्नुपर्नेछ । वडास्तरीय समितिले लागत संकलन गरिरहेको र बाकी रहेका वडाहरुमा तत्काल लागत संकलन गरिने पनि निर्णयमा उल्लेख छ ।

राहत वितरण कार्य नगरपालिकाले स्थापना गरेको राहत कोषमार्फत एकद्वार प्रणालीबाट गरिने भएको छ । उक्त राहत कोषमा नगर तथा जिन्सी सहयोग प्रदान गर्न नगरका सम्पूर्ण संघसंस्था र नगरबासीलाई आव्हान गरिएको छ ।

सम्बन्धित खवर