नगरले बनाउन नसकेको क्वारेनटाइन वडाध्यक्षले बनाए, भन्छन् अब दाल, चामल बाढ्छु

नगरले बनाउन नसकेको क्वारेनटाइन वडाध्यक्षले बनाए, भन्छन् अब दाल, चामल बाढ्छु

भिमराज अधिकारी, पथरी

नगरभरी नै एउटा पनि क्वारेनटाइन नभएको अवस्थामा वडा अध्यक्षले आफ्नै लगानीमा १० बेडको क्वारेनटाइन बनाएर नगर प्रमुखलाई हस्तान्तरण गर्नुभएको छ । मोरङको सुनवार्षी नगरपालिकाले बनाउने तयारी गरेको भएपनि हाल सम्म क्वारेनटाइन बनाउन सकेको थिएन । वडा नं. २ अमरदहका अध्यक्ष प्रताप तामाङले करिब ३ लाख बराबरको सामान खरिद गरी क्वारेनटाइन निर्माण गर्नुभएको हो ।

जम्मा १० वटा बेड, त्यहाँ विरामी बस्दा आवश्यक पर्ने अन्य सम्पूर्ण सामाग्री गरेर जम्मा २ लाख ९३ हजार ४२० रुपैया खर्च भएको अध्यक्ष तामाङले बताउनुभयो । ‘‘क्वारेनटाइन भएता पनि बेडहरु आइसोलेसनमा प्रयोग हुने गरिको छ । नगरले बनाउने भनेको विवाद मात्रै भइरहन्छ मैले आफैले मेरो सुविधा वापत आउने रकमबाट खर्च गरेर क्वारेनटाइन बनाएको हुँ ।’’ तामाङले भन्नुभयो ।

अमरदह स्वास्थ्यचौकीमा निर्माण गरिएको सो क्वारेनटाइन सोमबार नगर प्रमुख काली प्रसाद दासलाई हस्तान्तरण गरिएको हो । प्रमुख दासले वडाले नगरलाई ठुलो गुन लगाएको भन्दै क्वारेनटाइनमा आवश्यक पर्ने अपुग सामानहरुको व्यवस्थापन गरी स्वास्थ्यकर्मीहरु खटाउने बताउनुभयो । सो क्वारेनटाइन सुनवार्षीको एकमात्र क्वारेनटाइन हो । छिमेकी मुल भारतसंग सिमाना जोडिएको हुँदा सुनवर्षी अझै वढि जोखिममा रहेको छ ।

वडामा यसअघि पनि ९० हजार बराबरको मास्क, साबुन, स्यानिटाइजर, ग्लोव्स लगाएतका सामाग्री वितरण गरिसकिएको तामाङले बताउनुभयो । अब अतिविपन्न परिवारका लागि खाद्यान्न वितरण गर्नका लागि १ लाख ४५ हजार बराबरको दाल चामल खरिद गरिसकेको तामाङले बताउनुभयो । अब वडामा अतिविपन्न परिवारको लगत सङ्कलन गर्ने र सो पछि राहत सामग्री वितरण गरिने तामाङले बताउनुभयो ।

सम्बन्धित खवर