विपन्न परिवारलाई पशुपतिमा निःशुल्क शव जलाउन दिइने

विपन्न परिवारलाई पशुपतिमा निःशुल्क शव जलाउन दिइने

पशुपति क्षेत्र विकास कोषले गरिब तथा विपन्न परिवारलाई निःशुल्क शव जलाउन दिने भएको छ। कोषले मुलुक लकडाउन भएको अवस्थामा कसैले पनि असुविधामा पर्नु नपरोस् भनेर यस्तो सुविधा दिने जनाएको हो।

काठमाडौं नक्साल बसेर ज्यालादारी गर्दै आएकी भक्तपुरकी २७ वर्षीया रिना श्रेष्ठ पतिको मृत्युपछि पशुपतिस्थित विद्युतीय शवदाह गृह पुग्दा रकम अभावमा समस्यामा परेको समाचार सार्वजनिक भएपछि कोषले यस्तो निर्णय गरेको हो।

‘कोषले नियमअनुसार यसअघि पनि गरिब र असहायलाई निःशुल्क गर्दै आएको छ’, कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले भने, ‘विद्युतीय शवदाह गृहमा शनिबार भएको घटनामा कागजी प्रक्रियामा केही अस्पष्टता भएर हो, कोषले यस्तो अवस्थामा नियमबमोजिम सबैलाई निशुल्क गर्छ।’

उनका अनुसार, नियममा सम्बन्धित नगरपालिकाको हकमा वडा कार्यालय वा गाउँपालिकाले सिफारिस गरेको सन्दर्भमा कागजातका आधारमा निःशुल्क शव जलाउने सुविधा दिँदै आएको छ।

‘अन्यथा के आधारमा कसरी दिने ? संभवत शनिबार त्यस्तै भएको हुनुपर्छ’, थापाले भने, ‘तर, मुलुक नै लकडाउन भएकाले अवस्था विचार गरेर सुविधा दिन्छौं। सबै कुरा खोज्ने कुरै भएन।’

अन्नपूर्ण पोष्टबाट

सम्बन्धित खवर