स्पेनमा बितेको २४ घण्टामा ८३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा थप ६ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरसबाट स्पेनमा आइतबार (२९ मार्च) साँझसम्ममा ६ हजार ५२८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।
स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ । मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
आइतबार साँझसम्ममा विश्वभर सङ्क्रमितको सङ्ख्या ६ लाख ८० हजारभन्दा बढी पुगेको छ भने ३१ हजार ९२० जनाको मृत्यु भैसकेको छ ।