पथरी, कोरोना भाइरसबाट वच्ने सचेतनाका साथ मोरङको पथरी शनिश्चरेमा अत्यावश्यक खाद्यान्न पसल विहान र बेलुका निश्चित समयमा खोल्न आव्हान गरिएसंगै पसलहरु खुल्न थालेका छन् ।
पथरी शनिश्चरे नगरपालिकाको कार्यालय, पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालय पथरीले आज संयुक्त सूचना जारी गर्दै विहान ७ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म अत्यावश्यक खाद्यान्न र सब्जी पसल खोल्ने समय निर्धारण गरेको थियो । सोही अनुसार आज माइकिङ थालिएको पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले जनाउनु भयो ।
अत्यावश्यकीय सामान खरिद गर्दा कम्तिमा २ मिटरको दुरीमा रहेर घरको १ जनामात्र सहभागि हुनुपर्ने कुरा सूचनामा उल्लेख गरिएको छ ।
कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सवैले घरभित्र बसेर सहयोग पुर्याउन समेत अनुरोध गरिएको छ ।
यसक्रममा, नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय पथरीले दैनिक अनुगमन गर्दै अत्यावश्यक काममा बाहेक बाहिर ननिस्किन, खाद्यान्नको सहज उपलब्धताको अनुगमन गरिरहेको नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो ।
यसैबीच, अत्यावश्यक पर्ने बैंकिङ सेवा समेत सुरक्षित रुपमा २ घण्टा सञ्चालनको आवश्यकता महसुस गर्दै पथरीमा रहेको एनएमबी, कामना बैंक सहित आज २ घण्टा खुला गरिएको छ । नगरका खाद्यान्नका केही पसल र सब्जी पसलहरु सञ्चालनमा रहेका छन् ।
विश्व नै त्रसित बनिरहेको अवस्थामा पथरी शनिश्चरेले गरेको यो निर्णयको सामाजिक संजालमा भने चर्को बिरोध भइरहेको छ । कोरोनाले बिहान बेलुका नभन्ने भएकाले बरु नगरले नै अति आवश्यक सामान घर घरमा पु¥याउने व्यवस्था गर्नुपर्ने माग उठेको छ । सरकारले चैत्र २५ सम्मका लागि लकडाउनको समय थप गरेको अवस्थामा नगरले बिहान बेलुका पसल खोल्न आवहान गर्नु गलत भएको अधिकांशले टिपणी गरेका छन् ।