कोरोना रोकथामका लागि आफ्नो निर्वाचन क्षेत्रमा डा. रिजालको सहयोग

कोरोना रोकथामका लागि आफ्नो निर्वाचन क्षेत्रमा डा. रिजालको सहयोग

चैत १५, इटहरा : प्रतिनिधिसभा सदस्य डा. मिनेन्द्र रिजालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रतुवामाई नगरपालिकालाई ५० हजार रुपैया प्रदान गर्नु भएको छ । यसै गरी कोरोना प्रकोप रोकथामका लागि स्थानीय सरकारसँग मिलेर काम गर्ने गरी नेपाली काङ्गे्रस रतुवामाई नगरसमितिलाई पनि ५० हजार रुपैया दिनु भएको छ ।

मोरङ क्षेत्र नम्बर २ का सांसद डा. रिजालले यो रकम व्यक्तिगत रुपमा प्रदान गरेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकालाई दिईएको रकम नगरपालिकाले स्थापना गरेको कोरेना भाइरस संक्रमण रोकथाम विपद् कोष मार्फत र पार्टीलाई प्रदान गरिएको रकम पार्टीको नगर समितिले नगरपालिकासँगको समन्वयमा खर्च गरिने छ ।

१० वटा वडा रहेको रतुवामाई नगरपालिकाका प्रत्येक वडालाई नगरपालिका र पार्टीका तर्फबाट ५÷५ हजार पर्ने गरी एक लाख रुपैया दिएको डा. रिजालले बताउनुभयो । पार्टीले विशेषगरी विपन्न वर्गका नगरबासीका लागि मास्क, सेनिटाइजर लगायतका अत्यावश्यक सामाग्रीको व्यवस्था गरोस् भनेर आफुले पार्टीलाई आर्थिक सहयोग गरेको उहाँले उल्लेख गर्नुभयो ।

अन्य विपति भन्दा यो महामारी भिन्न प्रकृतिको भएकाले विपद्को यस घडीमा आफू आफ्नो निर्वाचन क्षेत्रका जनताको साथमा हुन नपाएकोमा अत्यन्तै दुख लागेको भन्दै सांसद रिजालले सबैलाई सावधानी अपनाउन र धैर्य धारण गर्न आग्रह गर्नुभयो ।

२ नम्बर क्षेत्रका सबै वडाहरुलाई आफुले सहयोग गर्न चाहेको पनि उहाँले बताउनुभयो । सहयोगको माग भई आएमा आफ्नो निर्वाचन क्षेत्रका सबै वडाहरु समेटिने गरी सहयोग गर्न आफु तयार रहेको डा. रिजालको भनाई छ ।

मोरङ क्षेत्र नम्बर २ मा रतुवामाई र सुनवर्षी नगरपालिकासहित रंगेली नगरपालिकाका ५, पथरीशनिश्चरे नगरपालिकाका २ र कानेपोखरी गाँउपालिकाका ३ वटा वडा गरी जम्मा २९ वटा वडा रहेका छन् ।

सम्बन्धित खवर