मेयर राईको अगुवाईमा सेनिटाइजर नियन्त्रणमा लिइयो

मेयर राईको अगुवाईमा सेनिटाइजर नियन्त्रणमा लिइयो

प्रबेश बिष्ट
चैत १५, इटहरा : रतुवामाई नगरपालिकाले एक व्यवसायीको सेनिटाइजर नियन्त्रणमा लिएको छ ।

रतुवामाई स्थायी घर भई उर्लाबारीमा व्यवसाय गर्दै आउनुभएका निलम खड्काले ल्याएको सेनिटाइजर नगरप्रमुख रविन राईले आफ्नै अगुवाईमा नियन्त्रणमा लिनु भएको हो ।

नगरप्रमुख राईले गैर कानुनीरुपमा अन्य मान्छेहरु लगाएर आफ्नो १ हजार ५० थान सेनिटाइजर कब्जामा लिएको व्यवसायी खड्काले आरोप लगाउनुभयो । कोरोना संक्रमणको यो विषम परिस्थितिमा अत्यावश्यक सामाग्रीकोरुपमा रहेको सेनिटाइजर बिक्री गर्न नदिएर मेयर राईले कानुन हनतमा लिएको उहाँको भनाई छ ।

आफूले सबै कानुनी प्रक्रिया पुरा गरी काठमाडौँबाट ल्याएको सेनिटाइजर बिक्रीका लागि विराटनगर लाने क्रममा मेयर राईले नियन्त्रणमा लिएको खड्कालेले दाबी गर्नुभयो ।

खड्काले भन्नु्भयो,“ बिक्रीका लागि विराटनगर जादै गर्दा वडा नम्बर १०, ९ र ८ मा केही थान बेचेँ, सिजुवा प्रहरीले सहयोगस्वरुप अलिकति मागेको थियो । म त्यहाँ गएँ, प्रहरीलाई निशुल्करुपमा अलिकति सेनिटाइजर दिएँ । उहाँहरुले लिइसकेपछि मेयर आएर सामान बरामद गर्न प्रहरीलाई निर्देशन दिनुभयो । प्रहरीले केही समय लगाएर सबै कागजपत्र र बिलहरु जाँच गर्यो र कानुनीरुपमा कुनै रोकावट गर्न नमिल्ने जानकारी दियो । त्यसपछि मेयर आफैले सबै सामान नगरपालिकाको स्वास्थ्य शाखामा लगेर थन्क्याउनु्भयो । ”

उता, नगरपालिकाले जारी गरेको निर्देशन विपरित खड्काले सेनिटाइजर बाड्दै हिँडेकाले उहाँको सामान नियन्त्रणमा लिइएको मेयर राईको भनाई छ । नगर कार्यपालिकाको बैठकले कोरोना रोकथाम एवं सचेतना सम्बन्धी कुनैपनि संस्थाले नगरभित्र कार्यक्रम सञ्चालन गर्न नगरपालिकाको स्विकृति लिनुपर्ने निर्णय गरेको उल्लेख गर्दै मेयर राईले खड्काले उक्त निर्णयको परिपालना नगरेको बताउनुभयो ।

अर्को तर्फ सरकारले घोषणा गरेको लक डाउनको अवज्ञा गर्दै आफ्नै मन खुसीले सामान बाड्दै हिँडेकाले उहाँको सामान नियन्त्रण गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको नगर प्रमुख राईको तर्क छ ।

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ५ गते बसेको नगर कार्यपालिकाको बैठकले गरेका निर्णयहरुमा संघ संस्थाको जिम्मेवारी समेत उल्लेख गरिएको छ । सार्वजनिक गरिएको निर्णय पत्रको बुदाँ नम्बर १७ मा “विभिन्न सरकारी, गैरसरकारी तथा सामाजिक संघसंस्थाहरुको समन्वय र सहयोगमा कोरोना भाइरसबाट बच्ने जनचेतना लगायतका कार्यहरु नगर कार्यपालिकाको कार्यलयको स्विकृति, सहमति र सहकार्यमा गर्न गराउन आवहान गर्ने” उल्लेख छ ।

ईलका प्रहरी कार्यलय सिजुवाका प्रहरी नायव निरिक्षक मोती बहादुर कटुवालले आफूहरुले व्यासायी खड्काबाट डेढ लिटर जति सेनिटाइजर लिएको स्विकार गर्नु भएको छ । कार्यलयमा सेनिटाइजरको अभाव रहेको र एक जना स्थानीयको सहयोगमा खड्काबाट उक्त सेनिटाइजर निशुल्करुपमा लिइएको सई कटुवालले जानकारी दिनुभयो । यो विषम परिस्थितिमा आफुहरुले मानवीय हिसाबले यो सेनिटाइजर लिइएको उहाँको भनाई छ ।

“नगरप्रमुख राईको निर्देशन अनुसार हामीले उहाँका कागजात र बिलहरु हेर्यौँ, सबै ठिक छन्” सई कटुवालले भन्नुभयो, “ उहाँसँग ईलका प्रशासन कार्यलय उर्लाबारीबाट चैत १८ गतेसम्मका लागि लिइएको सवारी पास समेत छ, कानुनीरुपमा उहाँलाई रोक्न मिलेन र हामीले छोडिदियौँ । ”

प्रहरीले आफुलाई सामानसहित जान अनुमति दिएपछि मेयर राईले गाडीसहित सेनिटाइजर नियन्त्रणमा लिनु भनेको कानुनको ठाडो उल्लंघन गर्नु हो भन्दै आफुलाई राजनैतिक प्रतिसोधका कारण दुख दिएको व्यवसायी खड्काको आरोप छ । साँझपख गाडी लान दिइएको तर सेनिटाइजरका बिषयमा आइतबार निर्णय दिइने जानकारी गराइएको खड्काले बताउनुभयो ।

आफु सेनिटाइजर बाड्न नगएको, खाली बिक्रीका लागि विराटनगर जादाँ प्रहरीलाई मानवताका नाताले सहयोग गरेको खड्काको जिकिर छ भने खड्काले नियम विपरित नगरपालिकाको स्विकृति बिना सेनिटाइजर बाड्दै हिडेको मेयर राईको दाबी छ ।

खड्का प्रस्तावित रतुवामाई जेसिसका अध्यक्ष समेत रहेका छन् ।

सम्बन्धित खवर