पथरी, कोरोना भाइरस संक्रमण रोक्न गरिएको वन्दका बेला नगरवासीहरु अनाहकमा बाहिर निस्किएको पाइएपछि मोरङको पथरी शनिश्चरे नगरपालिकाले घर बाहिर ननिस्किन आव्हान गर्दै माइकिङ थालेको छ ।
नगर प्रवक्ता यामप्रसाद गुरागाईंको अगुवाईमा सूचना सम्पादक भूपेन्द्र तिम्सिना, न्यायिक समितिका कर्मचारी विश्वमणि निरौला, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेत तथा इलाका प्रहरी कार्यालयका सुरक्षाकर्मी सहितको टोलीले आजबाट माइकिङ गर्न थालेको हो । टोलीले आज नगरका २ वटा गाडीमा रहेर वडा नम्वर १ र १० को धेरैजसो भाग तथा २ र ७ को केही भागमा माइकिङ गर्न भ्याएको नगर प्रवक्ता गुरागाईंले जनाउनु भयो । नेपाल बाहिरबाट आउने जोकोहीले अनिवार्य रुपमा स्वास्थ्य परिक्षण गराएर क्वारेन्टाइनमा वस्न सचेत सूचित गरिएको छ ।
माइकिङका क्रममा जमघट गरी बसेका मानिसहरुलाई सम्झाउँदै घर पठाउने तथा मास्कको प्रयोग गर्ने, सावुनपानीले हात धुने जस्ता कुराहरु जानकारी गराइएको उहाँले उल्लेख गर्नुभयो । सवै वडामा एक चरण माइकिङ गरी कोरोना भाइरसको संक्रमणबाट वच्नका लागि बाहिरफेरका मानिसहरुसँग भेटघाटै नगरी सुरक्षित हिसावले आफ्नै घरमा बस्नुनै सवैभन्दा उत्तम उपाय भएको जानकारी गराइने छ । प्रहरीले नगरवासी कोही पनि बाहिर ननिस्किइ सुरक्षीत तबरले घरभित्रै वस्ने कुरामा अझ कडाई गर्ने छ । माइकिङका क्रममा १० नम्वर वडाध्यक्ष सागर राईले पथरी उद्योग वाणिज्य संघका लागि केही मास्क प्रदान गर्नुभयो । साथै उहाँले आफ्ना बुबा गुल्सन र आफ्नो खर्चमा ४ हजार मास्क तयार गरी वडावासीलाई निःशुल्क वितरण गरिरहनु भएको छ ।
पथरी उद्योग वाणिज्य संघ र इलाका प्रहरी कार्यालयका प्रतिनिधि सहितको नगर अनुगमन् समितिको आजको आकस्मिक बैठकले नगरवासीलाई बाहिर ननिस्किई सुरक्षित तबरले घरभित्रै बसेर कोरोनाबाट जोगिन आव्हान गर्दै माइकिङ गर्ने निर्णय गरेको थियो । नगरका भित्री वस्तीहरुमा जमघट भएर वस्ने, लुडो, तास खेल्ने तथा अति आवश्यक काम नपरी पनि घर बाहिर निस्किएर घुमफिर गर्ने पाइएकाले उनीहरुका लागि थप आव्हान गर्न निर्णय भएको हो ।
बैठकले, बजारमा कृत्रीम अभाव र कालोबजारी सिर्जना गर्न नदिन आफ्नो तर्फबाट सक्रियता अपनाउने निर्णय गरेको छ । बजारमा अत्यावश्यकीय वस्तुको कृत्रीम अभाव र कालोबजारी रोक्नका लागि नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा बसेको बैठकले बजारमा कृत्रीम अभाव र कालोबजारी गरेको भेटिएमा कडा कारबाही गर्ने निर्णय गरेको नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाले जनाउनु भयो । साथै अत्यावश्यकीय वस्तुको किनबेचमा भीडभाड हुन नदिई कम्तिमा २ मिटरको दुरी कायम गरेर सुरक्षित रहन सचेतता अपनाउने समेत निर्णय भएको छ ।
खाद्यान्न, औषधि सहितका अत्यावश्यकीय वस्तुको सहज आपूर्तिका लागि पथरी उद्योग वाणिज्य संघसँग समन्वय गर्ने पनि निर्णय भएको छ । स्थानीय एफएम रेडियो र अनलाइनहरुमा समेत घरघित्रै वस्ने सहितका सचेतनाका सूचना प्रशारण प्रकाशन गराइएको छ ।
यसैबीच, नगरपालिकाको आव्हानमा नगर अस्पताल सहितका नगरपालिका मातहतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकले सुरक्षित पोशाकमा आफ्नो काममा सक्रियता जनाइरहेका छन् ।