चैत ११, उदयपुर : उदयपुरमा लकडाउनको अवज्ञा गरी सञ्चालनमा आएका ४६२ वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि देशभर लकडाउनको घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी यूनिटले लक डाउन अवज्ञा गरी सञ्चालन भएका ठुला तथा साना गाडीहरु १२३ वटा मोटरसाइकल, स्कुटी ३३२ वटा, अटो ३ वटा र साइकल ४ वटा नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रमुख एसपी बिरबहादुर बुढामगरले जानकारी दिनुभयो ।
साधनहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखेको र आज पहिलो दिन भएका कारण कतिपय सर्वसाधारणलाई जानकारी नभएकोले नियन्त्रणमा लिएका सवारी साधनहरुलाई अनुन्धान पश्चात अपराधिक गतिबिधीमा संलग्न नरहेकोहरुलाई छाडिने एसपी बुढामगरले बताउनुभयो।
साथै भोलि देखि लकडाउनको अवज्ञा गरी कुनै पनि सवारी साधन चलाएमा कानुन बमोजिम कार्बाही गर्ने समेत प्रहरीले जनाएको छ।
विहान केही समय रोकेर सम्झाउने काम गर्नुका साथै प्रहरीले माईकिङ समेत गरेको थियो। त्यसपछि पनि सञ्चालनमा आएका सवारी साधनहरु नियन्त्रणमा लिइएको एसपी मगरले बताउनुभयो।