उदयपुर : सरकारले कोरोना भाइरसको प्रभाव न्युन गर्न लकडाउन गरेपनि प्रदेश नम्बर १ र दुईको सिमाना तथा उदयपुरको प्रमुख नाका लाल्पत्तामा यतिबेला भिडभाड बढेको छ ।
कोरोनाको सन्त्रासले गर्दा विभिन्न क्षेत्रमा अस्थायी रुपमा बसोबास गर्दै आइरहेका मानिसहरु बुहुल्य मात्रत्रमा घर फर्कन थालेका छन् । भारतबाट प्रदेश २ हुँदै उदयपुर आउने यात्रु बढेका छन् भने खाद्यान्न लगायतका अत्यावश्यक सामान लिएर मालबाहक सबारीसाधन उदयपुर भित्रिनु पर्ने भएकोले भिड बढेको हो ।
सरकारले कोरोना भाइरसको सम्भावित रोकथामका लागि मंगलबारदेखि देशभर लक डाउनको घोषण गरेको छ । उदयपुर र प्रदेश नम्बर २ जोड्ने लालपत्ता नाका प्रहरीले सर्वसाधरणलाई चेक जाँच गर्ने र अन्य अत्यावश्यक बाहेकका मानिसहरुको संख्या बढ्दो भएकाले भिडभाड भएको हो ।
प्रदेश नम्बर २ र ३ कोरोनाको उच्च जोखिममा रहेको र सोही स्थान पार गरी उदयपुर प्रबेश गर्नुपर्ने भएकाले सुरक्षामा थप कडाई गर्दा भिडभाड भई खतरा बन्न पुगेको सुरक्षा जाँचमा कार्यरत एक प्रहरीले बताउनुभयो ।
उक्त समस्याको समाधानका लागि ज्वरो नाप्ने यन्त्र, साबुनपानी र सेन्टिलाइजर सहितको हेल्थ डेक्स राख्न स्थानीय युवानेता प्रवेश खड्का लगायतका नेताहरुले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।
नगरपालिकाले महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भाव्य रोकथाम र नियन्त्रणका लागि तत्काल त्रियुगाको सिमा नाकामा स्वास्थ्य सचेतना ( हेल्थ डेस्क) स्थापना गर्छ भन्ने आशाबादी भएको पनि नेता खड्काले बताउनुभयो ।