रंगेली मालपोतको महंगो हस्ताक्षर, एउटा हस्ताक्षरको ५ सय

रंगेली मालपोतको महंगो हस्ताक्षर, एउटा हस्ताक्षरको ५ सय

रविन्द्र बराल, रंगेली

मालपोत कार्यालयको हस्ताक्षर निकै महंगो हुने गरेको हामिले सुनेकै छौँ । मोरङको रंगेली मालपोतको हस्ताक्षरको भाउ पनि प्रतिगोटा ५ सय पुगेको सेवाग्राहीले आरोप लगाएका छन् ।

रंगेली मालपोतमा एउटा हस्ताक्षर ५ सय परेको मोरङका सेवाग्राही नविन पौडेल र नविन थापाले बताएका छन् । एकै दिनमा सकिने काम थप रकम नदिएकै कारण दुई दिन लागेपछि पौडेलको समुहले घुस नदिए काम नहुने पत्ता लगाएका हुन् ।

घटनाक्रम यसरी सुरुहुन्छ ः

मोरङका नवीन थापा र नवीन पौडेलको समूहले रंगेली नगरपालिकास्थित आमतोलामा रहेको एउटा राइस मिल किन्यो । राइस मिल रहेको घर र त्यसले चर्चेको साढे ३ कठ्ठा जग्गाको मूल्य १ करोड ६७ लाख रुपैयाँको थैली राखेर उनीहरु जग्गा पास गर्न रंगेली मालपोत कार्यालय पुगे ।

आवश्यक सबै कागजात पूरा गरेर उनीहरूले फाइल पेस गरे । फाँटका कर्मचारीले जग्गा पास गर्दा लाग्ने लाभकरबापतको पैसा हिसाब गरेर मागे । जग्गा किन्नेहरूले ४ लाख १७ हजार ५ सय रुपैयाँ दिए । जग्गा पास गर्दा ५ वर्षभित्रै दोस्रोपटक पास भएको भए ५ प्रतिशत र ५ वर्षभन्दा पछि पास हुने भए २।५ प्रतिशत लाभकर तिर्नुपर्छ ।

उनीहरूले पैसा त दिए तर हिसाब गर्दा बढी पैसा लगेको थाहा पाए । यसअघि जग्गा पास हुँदा उक्त जग्गाको थैली १५ लाख रुपैयाँ राखिएको थियो । यसको मतलब १५ लाख रुपैयाँ घटाएर हुन आउने रकमको मात्र लाभकर तिर्नुपर्ने थियो । बढी पैसा लगेको थाहा पाएपछि उनीहरूले गएर पैसा फिर्ता मागे ।

उनीहरूले पैसा त फिर्ता पाए तर उनीहरूको काम भने अड्कियो । बिहीबार दिउँसो २ बजेतिर भएको यस घटनापछि शुक्रबार पनि उनीहरूको काम सकिएन । त्यो पैसा फिर्ता लिनुअघि त्यसै दिन सकिने भनिएको काम भोलिपल्ट पनि नसकिँदा त्यहाँ कसरी काम भइरहेको छ भन्ने स्पष्ट हुन्छ ।

बिहीबार कार्यालय समय सकिने बेलामा कार्यालयका नासु सुदीप पोखरेल र राजन निरौलाले यस कामका लागि व्यक्तिगत पान नम्बर आवश्यक पर्ने बताए । जबकि यसअघि उनीहरूको कम्पनीको पान नम्बरबाटै काम हुने भएको थियो । त्यसपछि उनीहरु फर्किए । भोलिपल्ट पान नम्बर लिएर गए तर पनि काम भएन ।

त्यसपछि नवीनको समूहले त्यहाँ खबरदारी गर्‍यो । कार्यालय प्रमुखलाई बोलाएर घटनाबारे जानकारी गरायो । त्यसपछि कार्यालयमा केहीबेर तनावसमेत भएको थियो ।

नवीन पौडेलका अनुसार त्यहाँ हरेक कामका लागि कर्मचारीले सेवाग्राहीसँग थप रकम लिने गरेका छन् । एउटा सही गराउनुपर्‍यो भने ५ सय रुपैयाँ तिर्नुपर्ने उनीहरुको आरोप छ । पौडेलका अनुसार त्यहाँका कर्मचारीले त्यसरी लिएको रकम राजस्व रकमसँगै राख्ने गरेको र कार्यालय समय सकिएपछि राजस्वभन्दा बाहेकको पैसा बाँडफाँड गर्ने गरेका छन् ।

पौडेलका अनुसार त्यहाँ विवाद भएपछि शुक्रबार राजस्व काटेको रसिद र उठेको रकम गन्न पनि माग गरेका थिए । तर त्यो पैसा गन्न कर्मचारीहरु तयार भएनन् । त्यसपछि उनीहरुले कार्यालय प्रमुख चन्द्रमणि पोखरेललाई बोलाएर पैसा गन्न माग गर्दा उनले पनि पैसा गन्न अस्वीकार गरेका थिए । यस विषयले त्यो रकम कार्यालय प्रमुखलाई पनि भाग लाग्ने प्रमाणित भएको पौडेलल बताए ।

यस विषयमा प्रमुख पोखरेलसँग कुरा गर्दा कार्यालयमा त्यसरी अनुचित पैसा लिने काम नभएको बताए । यदि कोही कर्मचारील े लिएको पाइए कारबाही गर्ने उनले बताए । ‘१ करोडभन्दा बढीको कारोबारका लागि पर्सनल पान चाहिने हुन्छ । त्यही भएर बिहीबार काम नभएको हो’, प्रमुख पोखरेलले भने, ‘शुक्रबार पास गरेर त्यही दिन दृष्टिबन्धक नगर्न विभागको निर्देशन अनुसार काम नसकिएको हो । पैसाको कुराले अड्किएको भन्ने होइन ।’

लाभकरमा बढी पैसा लिएको विषयलाई भने पोखरेलले सेवाग्राहीकै कमजोरी भएको बताए । उनले भने, ‘बढी पैसा लिने बित्तिकै उहाँहरु मकहाँ आउनुपर्थ्यो । म तुरुन्तै एक्सन लिन्थें तर उहाँहरुले हिजो काम सकिएपछि मात्रै त्यो कुरा भन्नुभो । उहाँहरुले पैसा फिर्ता लिइसक्नुभएको रहेछ ।’

सामान्यतः रकम नलिइ कुनैपनि काम मालपोत कार्यालयमा हुदै हुदैन यो सबैलाई थाहा छ तर एउटा हस्ताक्षरको ५ सय पर्ने हो भने एकदिनमा कतिवटा हस्ताक्षर गर्छन होला ति कर्मचारीले ? कम्तिमा पनि ३० वटा गर्लान यसरी दिनकै १५ हजार कमाउदा कहाँ थन्क्याउछन् ? कार्यालयका प्रमुखले कुनै प्रतिशत नपाउने हो भने सेवाग्राहीलाई किन झनझट ?

सम्बन्धित खवर