चैत ९, इटहरा ।
राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगरकमिटीले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका बारेमा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएको छ ।
विश्वभर कोरोना भाइरसले सन्त्रास फैलाईरहेको बेला युवा संघले कोरोना भाइरसका बारेमा जनचेतना गराउँदै नेपाल भारत सिमाको पनि अनुगमन गरेको छ ।
गाँउमा आएको सरकार भनेर चिनिने स्थानीय सरकारले जनस्वास्थ्यको सवालमा गम्भिरता नदेखाएपछि युवा संघ जनचेतना फैलाउन सक्रियताका साथ लागेको राष्ट्रिय युवा संघ मोरङ जिल्ला अध्यक्ष नविन पौडेलले बताउनुभयो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना आतंक र त्यसबाट कसरी बच्ने भन्ने सवालमा युवाहरुले विभिन्न क्षेत्रहरुमा जनचेतनामूलक कार्यक्रम गरिरहेको भन्दै पौडेलले सबै मातहतका कमिटीहरुलाई पनि सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगरकमिटीको आयोजना भएको कार्यक्रममा नगर संयोजक राम कार्कीसहित केन्द्रिय सदस्य विजय डाँगी, जिल्ला अध्यक्ष नविन पौडेल, युवा नेता कुष्ण गुरुङ लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहयोगमा रतुवामाई नगरपालिका १ मा पर्ने नेपाल–भारत सिमा नाका पुगेर त्यहाँका मानिसहरुलाई कोरोनाबाट कसरी बच्न सकिन्छ र रोकथामका उपायहरु सिकाईएको थियो ।
युवा संघले बरडाँगामा रहेको सशस्त्र प्रहरी बल ( बोर्डर आउट पोस्ट ) मा गएर पनि सिमा सुरक्षाको बारेमा प्रतिक्रिया लिएको छ । सशस्त्र प्रहरी बलका प्रहरी निरिक्षक झपेन्द्र बानिँयाले सिमा स्वास्थ्यका बारेमा नगरपालिकाले कुनै चासो नदिएको बताउनुभयो । सिमावर्ती क्षेत्रका सर्वसाधरणहरुलाई नगरपालिकाले कोरोनाबारे रोकथाम र चेकजाँचका कुनै काम नगरेपछि विराट मेडिकल कलेजको सहयोगमा केहि दिन अघि सम्पूर्ण सिमावर्ती क्षेत्रका मानिसहरुको स्वास्थ्य जाँच गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य स्थिति कमजोर भएको देखेपछि राष्ट्रिय युवा संघ नेपाल रतुवामाई नगरकमिटीका संयोजक राम कार्कीले सिमा क्षेत्रमा केहि सहजताका लागि हात धुने पानी ट्याङ्कीको व्यवस्था मिलाईने बताउनुभयो ।