स्वर्ण जयन्तीको समिक्षा कार्यक्रम

स्वर्ण जयन्तीको समिक्षा कार्यक्रम

८ चैत, इटहरा : मोरङको रतुवामाई नगरपालिका ८ इटहरा स्थित सरस्वती माध्यमिक विद्यालयले स्वर्ण जयन्तीको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय स्थापनाको ५० औँ वर्ष गाँठका अवसरमा गत फागुन २ देखि ६ गतेसम्म मनाइएको स्वर्ण जयन्तीको एक महिनापछि समिक्षा गरिएको हो । जयन्ती पश्चात वार्षिक परिक्षाको तयारी र यसको सञ्चालनमा लाग्नु परेकाले समिक्षा भेला बोलाउन केहि ढिलो भएको प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले बताउनुभयो ।

स्वर्ण जयन्ती समारोह मूल समिति, विभिन्न उपसमिति, विद्यालय व्यवस्थापन समिति र शिक्षक तथा कर्मचारीहरुको सहभागिता रहेको समिक्षा कार्यक्रममा स्वर्ण जयन्तीको सघनरुपमा समिक्षा गरिएको. प्रधाजाध्यापक पौडेलले जानकारी दिनुभयो । हामीले स्वर्ण जयन्तीका सबल र दुर्बल दुबै पक्षहरुलाई मसिनो गरी केलाएका छौ, उहाँले भन्नुभयो, “यो समिक्षाले हाम्रा आगमी कार्यक्रमहरुलाई अझ प्रभावकारी ढङ्गले मार्ग निर्देशन गर्ने छ ।”

पूर्व प्रधानाध्यापक एवं वर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष टीकेन्द्रबहादुर पोमूले स्वर्ण जयन्तीका अवसरमा विद्यालयसँग जोडिएका विभिन्न पक्षहरुको अभिलेखिकरण गरिएको बताउनुभयो । उहाँले स्वर्ण जयन्तीमा घोषणा गरिएको सिभिल इन्जिनियरिङ कार्यक्रमको तयारीमा जुट्न समेत आग्रह गर्नुभयो ।

वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य नन्दकुमार चापागाईले स्वर्ण जयन्ती भव्यरुपमा सम्पन्न भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । स्वर्ण जयन्तीका अवसरमा स्वर्ण जयन्ती प्रबेश द्वार निर्माण, स्वर्ण जयन्ती स्मारिका प्रकाशन, अग्रजहरुको सम्मान लगायतका महत्वपूर्ण ऐतिहासिक कार्यहरु गरिएको चर्चा गर्दै सिभिल इन्जिनियरिङ पठनपाठनको व्यवस्थापनका लागि आवश्यक कार्य योजना तयार गरी काम थालिहाल्नु पर्नेमा वडा अध्यक्ष चापागाईले जोड दिनुभयो ।

सम्मान सिफारिस उपसमिति संयोजक मालती सुब्बा, स्मारिका प्रकाशन उपसमिति संयोजक थिरनाथ दाहाल, आर्थिक व्यवस्थापन उपसमिति संयोजक गंगाबहादुर योगी लगायतले आ–आफ्ना उपसमितिले गरेका कार्यहरु प्रस्तुत गर्नुभयो ।

लेखापाल भरत घिमिरेले स्वर्ण जयन्ती अवधिको आम्दानी खर्चको विवरण प्रस्तुत गर्नुभयो । स्वर्ण जयन्तीको अवसरमा सिभिल इन्जिनियरिङ कार्यक्रम सञ्चालनका लागि ५ लाख ८६ हजार २ सय ८४ रुपैँया प्राप्त भएको उहाँले जानकारी गराउनुभयो । त्यसैगरी विद्यालयमा ३ वटा अक्षय कोष स्थापना भएको पनि उहाँले जानकारी दिनुभयो ।

यी अक्षय कोषहरुमा उमानाथ गौतम र तिलोत्तमा गौतम संस्थापक रहेको १ लाख ११ हजार ११४ रुपँैयाको रंगलाल–विन्दादेवी गौतम स्मुति अक्षयकोष, फडिन्द्र सिटौला र कविता सिलवाल सिटौला संस्थापक रहेको १ लाख ११ हजार ११४ रुपँैयाको दधिराम–टिकादेवी सिटौला अक्षय कोष र थिरनाथ दाहालसहित उहाँका दाजुभाई– दिदीबहिनीहरु संस्थापक रहेको ६५ हजार रुपँैयाको मनमाया दाहाल स्मुति अक्षयकोष रहेका छन् ।

यी तीन वटा अक्षय कोषहरु थपिएपछि अब विद्यालयमा ९ वटा अक्षय कोषहरु रहेको विवरण लेखापाल घिमिरेले प्रस्तुत गर्नुभयो । यी सबै अक्षय कोषहरुको व्याजबाट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिदैँ आएको पनि उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित खवर