रतुवामाई : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस–कोभिड १९ को संभावित रोकथाम तथा नियन्त्रणका लागि मोरङको रतुवामाई नगरपालिकाले १७ बुँदे निर्णय सार्वजनिक गरेको छ ।
निर्णय पत्रमा नगरपालिका आफूले गर्ने कार्य र सरकोरवाला एवं सर्वसाधारणहरुले निर्वाह गर्नुपर्ने दायित्व उल्लेख गरिएको छ । भारतबाट आउने नेपाली नागरीकलाई जोगबनी र काकँडभिट्टा नाकाबाट मात्र आउन आफन्तहरुले जानकारी गराउनु पर्ने भनिएको छ । त्यसैगरी नगरपालिकाले आमबारी चौक र घर्रु चौकमा स्वास्थ्य सचेतना हेल्थ डेस्क राख्ने भएको छ ।
२५ जना बढीको जमघाटलाई निषेध गरिएको छ भने नगरी नहुने धार्मिक तथा सामाजिक कार्यमा समेत २५ जना बढी उपस्थित नहुन भनिएको छ । सत्संघ, भजनकीर्तन, पूरान लगायतका मानिसको जमघट हुने कार्यक्रमहरुमा रोक लगाईएको छ ।
साप्ताहिक हाटबजार अर्को निर्णय नहुन्जेलसम्मका लागि बन्द गरिएको छ ।
कुनै पनि नागरिकलाई संक्रमण भएको आशंका भएमा तुरुन्त उपचारका लागि अस्पताल पुर्याउन प्रभावकारी व्यवस्था मिलाउने निर्णयमा उल्लेख छ । त्यसैगरी प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि जनाइएको छ ।