गाँउमा विजुली पुगेपछि जीवनयापनमा सहज

गाँउमा विजुली पुगेपछि जीवनयापनमा सहज

६ चैत, तुलसीपुर / तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ३ को प्रतापकोटबाट जितवहादुर घर्तीले सधै तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगरपालिकाको अग्लो डाँडो अम्वासमा वस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको जुन हेरेजस्तो लाग्थ्यो । वर्षाैदेखि बजारको उज्यालो हेर्दै मन अमिलो बनाउन बाध्य उनी जस्ता यहाँका केयौ जनताहरुको खुसी विगत तिन महिनादेखि उचाईमा पुगेको छ । मोवाईल चार्ज गर्नका लागि समेत बजार जानुपर्ने बाध्यता भोग्दै आएका त्यहाँका जनताहरु घरमा टेलिभिजन राख्ने सोच बनाइरहेका छन् ।

“बत्ती आएर हाम्रो घरमात्रै होइन मन पनि उज्यालो भएको छ”– स्थानीय लिलामणी बाँठाले बताए । उनले मोवाईल चार्ज गर्न पनि तीन घण्टा हिडेर बजार जानुपर्ने बाध्यताको अन्त्य भएको सुनाए । सोलारबाट सामान्य बत्ती बाल्ने जोहो गरेको भएपनि वर्षामा त्यसले कामै नगर्ने पनि उनले बताए । “वर्षालाग्दा बाटोको कारणले वजार पनि जान मिल्दैन थियो, वत्ती विनाको अध्यारो मात्रै होइन फोन पनि गर्न सकिदैन थियो” बाँठाले विगतको दुःख पोखे ।

तर विगत ३ महिना यता भने उनीहरुको जीवन सहज भएको छ । “बत्ती भएपछि धेरै कुराको सजिलो भएको छ” प्रतापकोटकी सुनिता गुरुङ्गले वताइन् । उनले वत्ती आएपछि गाउँमा सहज भएको बताइन् । “राती टुक्की बाल्दा आगलागीको खतरा हुन्थ्यो त्यो पनि सजिलो भएको छ” गुरुङ्गले वताइन् । स्थानीय विद्यार्थी झरना वुढाले रातीको समयमा पढ्न सजिलो भएको बताइन् । उनले वत्ती आएपनि भोल्टेज पुरै नआएको भन्दै विद्युत प्राधिकरणलाई अनुरोध गरेको समेत जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिकाको पहलमा नेपाल विद्युत प्राधिकरणले विद्युत नपुगेका थर्कोट, प्रतापकोट, अम्वास, किमुगैरा लगायतका विभिन्न ठाउँमा विद्युत विस्तार गरिरहेको वडाध्यक्ष विजय विकले बताए । उनले वर्षाैदेखि वत्ती नै नपुगेको ठाउँमा स्थानीय सरकारको पहलमा पुर्याउने काम भइरहेको समेत बताए । बत्ती नपुगेका वडा नम्वर ३ का विकट ठाउँमा रहेका ४ सय ८५ घरमा यसै वर्ष बत्ती पुर्याउने गरी काम अगाडी वढेको पनि अध्यक्ष विकले जानकारी दिए ।

सम्बन्धित खवर