जुनारमा आत्मनिर्भर बन्दै सिन्धुलीबासी

जुनारमा आत्मनिर्भर बन्दै सिन्धुलीबासी

सिन्धुली,६ चैत – गोलन्जोर गाँउपालिका–४ तीनकन्या निवासी जुनार किसान लोकबहादुर आलेमगरले यो बर्ष मात्रै आफ्नो बगैचामा फलेको जुनार बिक्री गरी नौ लाख रुपैया आम्दानी लिनु भएको छ ।

१८ रोपनी जमिनमा गरेको जुनार खेतीबाट एक सिजनमा उक्त आम्दानी लिएको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “झण्डै पाँच सय बोटमा फलेको जुनार मङसिरदेखि फागुनसम्म बेचेर नौ लाख रुपैया जती आम्दानी लिए । राम्रो आम्दानी लिन सफल भएकोले यो बर्ष फेरी चार रोपनी जमिन किनेर जुनार खेती बिस्तार गर्दै छु ।”

२०४२ सालमा बुबाले रोप्नु भएको एक सय बोट जुनार खेतीलाई बिस्तार गरी अहिले पाँच सय बोट पुर्‍याएको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “सुरुमा बगैचाबाटै जुनार प्रतिकेजी ५० रुपैयामा बिक्री गरेको थिए । फागुनको दोस्रो सातासम्म आईपुग्दा ७० रुपैयासम्म प्रति केजी बिक्री गरे ।” जुनार खेती नै आफ्नो मुख्य पेसा रहेको र गत बर्ष छ लाख रुपैया आम्दानी लिएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै गोलन्जोर गाँउपालिका–५ रतनचुरा निवासी जुनार किसान निर्मल रम्तेलले पनि यो बर्ष सहकारी मार्फत २० लाख रुपैया बराबरको जुनार बिक्री गरेको सुनाउनुभयो । गाँउका सात वटा जुनार कृषि सहकारी संस्थाले सञ्चालन गरेको जुनार आधुनिक एग्रोमार्ट मार्फत उक्त मूल्य बराबरको जुनार बिक्री गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बीपी राजमार्ग नजिकका किसानले बगैंचाबाटै प्रति केजी ६५ रुपैयासम्म मूल्य पाए । त्यो भन्दा १० किलोमिटर टाढाका किसानले ५५ रुपैयासम्म मूल्य पाए ।” पछिल्लो समयमा गाँउ गाँउमा पुगेको कृषि सडकका कारण जुनारको बजार निकै सहज बनेको उहाँको अनुभव छ । “भदौदेखि नै व्यापारी जुनार खोज्दै बगैंचामा नै आए पुग्दछन् । सबै जुनार एकै पटकमा व्यापारीले थोक मूल्य तीरेर लैजाने भएकोले किसानलाई बजार खोज्दै हिड्नु पर्ने अवस्थाबाट मुक्ति मिलेको छ,” उहाँले थप्नुभयो ।

कोदो र मकै बालीमात्र फल्ने पाखो बारीमा गरिएको जुनार खेतीबाट आकर्षक आम्दानी लिन पाईने भएपछि किसानको रोजाईमा जुनार खेती पर्दै गएको छ । कोदो र मकै मात्र फलाएर वार्षिक करिब पाँच हजार रुपैया आम्दानी लिने गरेको पाखो बारीमा गरिएको जुनार खेतीबाट एकै सिजनमा एक लाख रुपैयाभन्दा बढी आम्दानी लिन पाईने किसानहरु अनुभव सुनाउछन् ।

जुनार सुपर जोनका प्रमुख देवराज अधिकारीका अनुसार सिन्धुली जिल्लामा यो बर्ष एक हजार ३४५ हेक्टर जमिनमा गरिएको जुनार खेतीबाट आठ हजार ८८१ मेट्रिक्टन जुनार उत्पादन भएको छ । गत बर्षको तुलनामा यो बर्ष जुनार खेतीमा किराको प्रकोप कम भएकोले जुनार उत्पादन पनि राम्रो भएको उहाँको भनाई छ ।

जुनार सुपर जोनका अनुसार स्थानीय तहका ७९ वटा वडामध्ये आठ वटा वडामा व्यावसायिक रुपमा जुनार खेती हुदै आएको छ । रतनचुरा, तीनकन्या, जलकन्या, बितिजोर, बाशेश्वर, मझुवा र दुम्जा लगायतका ठाँउ जुनार खेतिका लागि पकेट क्षेत्र रुपमा रहेका छन् ।

जुनारमा सरकारी र गैर–सरकारी अनुदान समेत प्राप्त हुने भएकाले पछिल्लो समय किसानहरु जुनार खेतीतर्फ नै बढि आकर्षित हुदै गएका छन् । सिन्धुलीमा यो बर्ष उत्पादन भएको जुनारबाट किसानहरुले झण्डै ४० करोड रुपैया भित्र्याएको जुनार केन्द्रिय सहकारी सङघले जनाएको छ । सहकारीका अनुसार यो बर्ष उत्पादन भएको जुनार मध्ये साढे सात हजार मेट्रिक्टन जुनार जिल्ला बाहिर गएको छ ।

जिल्लामा उत्पादित जुनार राजधानी काठमाण्डौ सहित देशका विभिन्न शहरमा निर्यात हुने गरेको छ । बढि मात्रामा कोसेलीको रुपमा सिन्धुलीको जुनार खपत हुदै आएको छ । जुनारको सिजनमा सिन्धुलीमा बस्ने मानिसले बाहिर अन्य ठाँउ बस्ने आफन्तलाई कोसेली स्वरुप जुनार पठाउने चलन रहेको सदरमुकाम निवासी उपभोक्ता सन्तोष दाहाल बताउनुहन्छ ।

किसानहरुका अनुसार प्रत्येक बर्ष मङ्सिरदेखि फागुनसम्मको चार महिना जुनारको बगैंचा पँहेलपुरमय बन्ने गरेको छ । बोट बीरुवाको काँटछाटदेखि लिएर फल टिप्ने र यातायातको साधनसम्म ढुवानी गर्दा सयौंको सङख्यामा स्थानीय व्यक्तिले रोजगारी समेत पाउद छन् । ‘एउटैको भन्दा पनि पालैपालो जुनार टिप्ने हुदा मजदुरी गर्नेले खाली बस्नु पर्दैन’, जुनार किसान रम्तेलले भन्नुभयो ।

सम्बन्धित खवर