आर्थिक विकास समितिबाट कामको समीक्षा

आर्थिक विकास समितिबाट कामको समीक्षा

पथरी, मोरङको पथरी शनिश्चरे नगर अन्तर्गत आर्थिक विकास समितिले आफ्नो मातहतका विषयगत शाखामार्फत हालसम्म सम्पन्न भएका योजनाहरुको कार्यप्रगति समीक्षा सम्पन्न गरेको छ ।

समितिका संयोजक यामप्रसाद गुरागाईंको अध्यक्षतामा बसेको बुधबारको बैठकमा कृषि विकास शाखाको शाखा प्रमुख सावित्रा कार्कीबाट, पशुपंक्षी शाखाको शाखा प्रमुख हेमचन्द्र दहालबाट र सहकारी शाखाको शाखा प्रमुख केशवदेवी धमलाबाट चालु आर्थिक वर्षको हालसम्मको कार्यप्रगति वितरण प्रस्तुत भएको छ ।

कृषितर्फ, तरकारी खेती तालिममा ३ सय ६० जना, खाद्यान्न बाली तालिममा ७० जना, जैविक विषादी तालिममा ७० जना, कौशी तथा फूल खेती तालिममा ५० जना सहभागि भएको जानकारी गराइएको छ ।

त्यस्तैगरी, २ हजार ६ सय ५० केजी उन्नत जातको मकैको विउ, २ हजार केजी उन्नत जातको आलुको विउ, आलुको स्रोत विउ उत्पादनका लागि ३ हजार ३ सय दाना पूर्व मुल विउ वितरण भएको छ । च्याउको १ हजार ४ सय सिलिण्डर विउ र मौरीका २५ वटा घार वितरण भएको कार्यक्रममा विवरण प्रस्तुत भएको छ ।

सोही शाखा अन्तर्गत, साना सिंचाईका लागि १२ जना, भकारो सूधारका लागि ३० जना कृषकलाई सहभागि गराउने कार्यक्रमको सूचना प्रकाशित गरिएको छ ।

त्यस्तै, पशुपंक्षी शाखातर्फ, गाई, भैंसी, बाख्रा, सुँगुर, कुखुरा समेत गरी ८ लाख १० हजार १ सय ९७ खोप, ७५ हजार ५ सय ६५ लाई मेडिकल उपचार, ९ हजार २ सय ८ को प्रयोगशाला परीक्षण, ७ हजार ९ सय ३७ को माइनर सर्जिकल उपचार भएको तथ्यांक प्रस्तुत भएको छ । ५ हजार ५ सय २२ को गाइनोकोलोजिकल उपचार, १ हजार ६ सय ४४ पशुको कृत्रीम गर्भाधान र १ सय ६४ वटा सामुदायिक कुकुरको वन्ध्याकरण गराएको पनि उल्लेख छ ।

औषधि खरिद, विभिन्न स्थलहरुको निरीक्षण, माछापोखरी सहितका कार्यक्रम तथा तालिम गोष्ठीहरु सञ्चालन भएका छन् । तालिम र गोष्ठीमा ३ हजार ६ सय २० जना सहभागि भएका छन् ।

बैठकले, अर्गानिक नगर बनाउन आगामी आर्थिक वर्षमा योजना तर्जुमाका लागि मार्गदर्शन तयार गर्न समिति र पशुपंक्षी शाखाबाट स्वीकृत कार्यक्रमका लागि आर्थिक विकास समितिको संयोजक गुरागाईंको संयोजकत्वमा फिल्डको आवश्यकता मुल्यांकन समिति समेत गठन गरेको छ । सहकारीहरुलाई लेखा परीक्षण प्रतिवेदन लगायतका जानकारी माग गर्ने समेत निर्णय भएको छ ।

सम्बन्धित खवर